भक्तपुरमा स्व. रामशेखर नकर्मी स्मृति नाटक महोत्सव सम्पन्न

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं। नाट्यकर्मी समाज नेपालको आयोजनामा भक्तपुर–८, लिवालीस्थित आशा थिएटरमा सञ्चालन भएको १० दिने स्व. रामशेखर नकर्मी स्मृति नाटक महोत्सव मङ्गलबार सम्पन्न भएको छ। साउन ९ गतेदेखि सुरु भएको महोत्सवले नेपाली तथा नेवाः रंगमञ्चको मौलिक परम्परा, सामाजिक चेतना र सांस्कृतिक संरक्षणको सन्देश प्रवाह गर्दै सफलतापूर्वक समापन भएको हो।


महोत्सवको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले गर्नुभएको थियो। उद्घाटन सत्रमा स्व. रामशेखर नकर्मीद्वारा लिखित ‘छेरावती द्यः’ नाटक मञ्चन गरिएको थियो।

आयोजकका अनुसार महोत्सवमा स्व. नकर्मीका ११ वटा चर्चित तथा कालजयी नाटक क्रमशः ‘खेल खत्म’, ‘छेरावती द्यः’, ‘१२ बजे’, ‘खुँगाता जँ जँ’, ‘तल्य टालेट (नेपाली भाषा)’, ‘खुँ’, ‘तल्य टालेट’, ‘टुरिस्ट गाइड’, ‘अस्पतालया जा’, ‘रानी पुखु’ तथा ‘सिमा त फः फः स्व’ मञ्चन गरिएका थिए। प्रत्येक नाटक फरक–फरक नाट्य संस्था तथा रंगकर्मी समूहले प्रस्तुति दिएका थिए।


महोत्सवमा भक्तपुर साकोस, ख्वप कलेज, स्वर वाचनालय, बहुउद्देश्यीय रंगकर्मी समूह, बाल विकास हाइस्कुल, प्रभात माध्यमिक विद्यालय, श्रमिक साकोस, नेत्रज्योतिसंघ, शहीद निर्मल–पुष्प स्मृति वाचनालय, जेली सांस्कृतिक समाज तथा संगम साकोसलगायत विभिन्न संस्थाको सहभागिता रहेको थियो। प्रत्येक दिन साँझ ५ बजे आशा थिएटरमा नाटक मञ्चन गरिएको आयोजकले जनाएको छ।


महोत्सवको विशेष आकर्षणका रूपमा आसराम वैद्यको निर्देशनमा मञ्चन गरिएको ‘रानी पुखु’ (रानिपोखरीमा आत्महत्या) नाटकले दर्शकको विशेष प्रशंसा बटुलेको छ। नाटकले योग्यता र क्षमता हुँदाहुँदै पनि रोजगारीका लागि घुसखोरीको सहारा लिनुपर्ने बाध्यता, बेरोजगारी, भ्रष्टाचार तथा सामाजिक विकृतिमाथि तीव्र व्यङ्ग्य गर्दै समकालीन यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको थियो।


उक्त नाटक वरिष्ठ कलाकार आशकाजी थकुको वास्तविक जीवन भोगाइबाट प्रेरित रहेको बताइएको छ। वि.सं. २०३० सालमा आई.ए. परीक्षामा एक नम्बरले असफल भएपछि उहाँले भोग्नुपरेको मानसिक पीडालाई आधार बनाएर स्व. रामशेखर नकर्मीले नाटक सिर्जना गर्नुभएको थियो। यसअघि ‘मुना सः’ संस्थाद्वारा आयोजित नाटक प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको उक्त नाटकको प्रदर्शनपछि कलाकार थकुले आफ्ना अनुभव दर्शकमाझ साझा गर्नुभएको थियो।


कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार थकुले नेवाः समुदायको नाट्य परम्परा समाज सुधारको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै नाटकले समाजमा रहेका विकृति, विसङ्गति, महँगी, अन्याय र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।


आयोजक नाट्यकर्मी समाज नेपालले स्व. रामशेखर नकर्मीका सिर्जनालाई नयाँ पुस्तासम्म पुर्‍याउने, मौलिक नेवाः रंगमञ्चको संरक्षण गर्ने तथा सामाजिक सन्देश बोकेका नाटकमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाएको छ। दस दिनसम्म निरन्तर सञ्चालन भएको यो महोत्सवले भक्तपुरको सांस्कृतिक तथा नाट्य गतिविधिलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूको धारणा रहेको छ।

प्रतिक्रिया