प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १८ सिट जित्यो, दोस्रो स्थानमा सीमित

lawanyasandesh.com

साँखु,काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस ले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १८ क्षेत्रमा विजय हासिल गरेको छ। निर्वाचन आयोग ले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार कांग्रेस यसपटक प्रत्यक्षतर्फ दोस्रो स्थानमा सीमित भएको हो।
कांग्रेसका तर्फबाट रौतहट क्षेत्र नम्बर–२ बाट मो. फिरदोस आलम २९ हजार ५२८ मतसहित विजयी भएका छन्। त्यस्तै सुर्खेत क्षेत्र नम्बर–१ बाट विष्णु बहादुर खड्का २६ हजार ८९७ मतसहित निर्वाचित भएका छन् भने कपिलवस्तु क्षेत्र नम्बर–३ बाट अभिषेक प्रताप शाह ले २३ हजार ५३५ मत प्राप्त गरी जीत हासिल गरेका छन्। जाजरकोट क्षेत्र नम्बर–१ बाट खड्क बहादुर बुढा २० हजार १४२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
त्यसैगरी पाल्पा क्षेत्र नम्बर–१ बाट सन्दीप राना १८ हजार ३३६ मतसहित विजयी भएका छन् भने पाँचथर क्षेत्र नम्बर–१ बाट नरेन्द्र कुमार केरुङ १७ हजार २३३ मतसहित निर्वाचित भएका छन्। बाजुरा क्षेत्र नम्बर–१ बाट जनकराज गिरी १७ हजार १७३ मत प्राप्त गर्दै प्रतिनिधिसभामा पुगेका छन्।
डोटी क्षेत्र नम्बर–१ बाट भरत बहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी भएका छन् भने इलाम क्षेत्र नम्बर–१ बाट निष्कल राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका छन्। सोलुखुम्बु क्षेत्र नम्बर–१ बाट प्रकाश सिंह कार्की १३ हजार १६६ मत ल्याउँदै विजयी हुँदा दैलेख क्षेत्र नम्बर–१ बाट वासना थापा १२ हजार ३७२ मतसहित प्रतिनिधिसभामा पुगेकी छन्।
तेह्रथुम क्षेत्र नम्बर–१ बाट सन्तोष सुब्बा ११ हजार ५६१ मतका साथ निर्वाचित भएका छन् भने अछाम क्षेत्र नम्बर–१ बाट भरत कुमार स्वार १० हजार ७५९ मतसहित विजयी भएका छन्। रसुवा क्षेत्र नम्बर–१ बाट मोहन आचार्य १० हजार ६५६ मतसहित निर्वाचित भएका छन्।
हिमाली जिल्लाहरूमा पनि कांग्रेसले आफ्नो प्रभाव कायम राख्न सफल भएको देखिएको छ। हुम्ला क्षेत्र नम्बर–१ बाट जयपति रोकाया ८ हजार ७१७ मतसहित विजयी भएका छन् भने मुगु क्षेत्र नम्बर–१ बाट खड्ग शाही ७ हजार ९१४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
कम मतदाता रहेका हिमाली जिल्लाहरू मुस्ताङ र मनाङमा पनि कांग्रेसले जित दर्ता गरेको छ। मुस्ताङ क्षेत्र नम्बर–१ बाट योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित निर्वाचित भएका छन् भने मनाङ क्षेत्र नम्बर–१ बाट टेक बहादुर गुरुङ २ हजार ४१५ मत प्राप्त गर्दै विजयी भएका छन्।
समग्रमा प्रत्यक्षतर्फ १८ सिट जित्दै नेपाली कांग्रेस प्रतिनिधिसभामा दोस्रो ठूलो दलका रूपमा देखिएको छ। निर्वाचन परिणामले कांग्रेसको परम्परागत प्रभाव रहेका केही क्षेत्र जोगिए पनि राष्ट्रिय राजनीतिमा दलको शक्ति सन्तुलनमा उल्लेख्य परिवर्तन आएको संकेत गरेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया