शंखरापुर, काठमाण्डौं । पाँच पटकको विश्वकप विजेता ब्राजिलले रोमाञ्चक पुनरागमन गर्दै जापानलाई २–१ गोलअन्तरले पराजित गरेको छ। अमेरिकाको टेक्सासस्थित ह्युस्टन स्टेडियममा सोमबार राति सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गतको नकआउट चरणको खेलमा इन्जुरी टाइममा गाब्रियल मार्टिनेलीले गरेको निर्णायक गोलसँगै ब्राजिल अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा प्रवेश गरेको हो।
खेलको पहिलो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै २९औँ मिनेटमा अग्रता लिएको थियो। ब्राजिलको मिडफिल्डमा भएको गल्तीको फाइदा उठाउँदै काइसु सानोले बल नियन्त्रणमा लिएर शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए। जर्मन क्लब मेइन्ज ०५ बाट खेल्ने सानोका लागि यो विश्वकपको पहिलो गोल पनि बनेको छ।
पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्यो। लगातार दबाब सिर्जना गरेपछि ५६औँ मिनेटमा अनुभवी मिडफिल्डर कासेमिरोले गाब्रियल मागाल्हाएसको क्रसलाई हेडमार्फत जाली चुमाउँदै खेल १–१ को बराबरीमा ल्याए।
बराबरीपछि पनि ब्राजिलले आक्रमणलाई निरन्तरता दियो। ब्रुनो गिमाराइसको हेडर जापानका गोलरक्षक जिओन सुजुकीले उत्कृष्ट बचाउ गरे भने कासेमिरोको अर्को प्रहार गोललाइनबाट डिफेन्डरले फर्काएका थिए। भिनिसियस जुनियरको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्किएपछि खेल अतिरिक्त समयतर्फ जाने संकेत देखिएको थियो।
तर इन्जुरी टाइमको अन्तिम क्षणमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका गाब्रियल मार्टिनेली नायक बने। अतिरिक्त समयको अन्तिम मिनेटमा उनले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए।
खेलभर ब्राजिलले १९ पटक प्रहार गर्दा ७ सट लक्ष्यमा राखेको थियो। जापानले भने सीमित अवसर सिर्जना गर्दै २ सट मात्र लक्ष्यमा राख्न सफल भयो। यद्यपि गोलरक्षक जिओन सुजुकीले चार उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा टिकाइराखेका थिए।
कासेमिरोले ३४ वर्ष १२६ दिनको उमेरमा गोल गर्दै विश्वकपमा ब्राजिलका लागि गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडीको कीर्तिमान पनि बनाए। यसअघि बेबेटोले सन् १९९८ को विश्वकपमा ३४ वर्ष १३७ दिनको उमेरमा डेनमार्कविरुद्ध गोल गरेका थिए।
यो हारसँगै जापानको विश्वकप २०२६ यात्रा समाप्त भएको छ। लगातार तेस्रो विश्वकपमा नकआउट चरणमा अग्रता लिएर पनि जित जोगाउन नसक्ने जापानको दुर्भाग्य दोहोरिएको छ। यसअघि सन् २०१८ मा बेल्जियमविरुद्ध २–० को अग्रता गुमाएर ३–२ ले पराजित भएको जापान सन् २०२२ मा क्रोएसियाविरुद्ध पनि अग्रता लिएपछि पेनाल्टी सुटआउटमा बाहिरिएको थियो।
ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उत्कृष्ट पुनरागमन र अन्तिम क्षणको जितसँगै ब्राजिलले उपाधि यात्रालाई थप मजबुत बनाएको छ।