साँखु, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आइतबार बिहान काठमाडौंको महाराजगन्ज क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
सीआइबीका प्रमुख एआइजी मनोजकुमार केसीका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको हो। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित उनको निवासमा आगजनी हुँदा नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा फेला परेको विषयमा अनुसन्धान अघि बढाइएको उनले बताए। ⚖️
त्यस समयमा घरबाट ठूलो रकम भेटिएको दाबी गर्दै सामाजिक सञ्जालमा पैसा उडाइएको भिडियो सार्वजनिक भएको थियो। उक्त घटनापछि स्रोत नखुलेको रकमबारे छानबिन तीव्र पारिएको र सोही सन्दर्भमा खड्कालाई नियन्त्रणमा लिइएको सीआइबीले जनाएको छ।
यस्तै, खड्कामाथि नेपाल स्काउटको जग्गा हिनामिनासम्बन्धी आरोपसमेत लागेको र ती विषयहरूलाई समेत अनुसन्धानको दायरामा राखिएको जनाइएको छ। प्रहरीले उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ।