साँखु,काठमाडौँ।– प्रतिनिधि सभा आजको बैठक निकै छोटो र सहमतिको वातावरणमा सम्पन्न भएको छ। सभामुख पदको निर्वाचनका लागि बोलाइएको बैठक केवल २७ मिनेटमै सकिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले निर्वाचन प्रक्रिया अगाडि बढाएका थिए। उनले सभामुखका लागि अर्यालको मात्र उम्मेदवारी परेको जानकारी दिँदै प्रस्तावक र समर्थकहरूलाई धारणा राख्न समय दिएका थिए।
प्रस्तावकका रूपमा बोल्ने अवसर पाएका रास्वपा सभापति रवि लामिछानेले संक्षिप्त सम्बोधन गर्दै अर्याललाई समर्थन गरेकोमा अन्य दलप्रति धन्यवाद व्यक्त गरे। ‘सबै दलको सहमति भइसकेको अवस्थामा म धेरै बोलेर सदनको समय लिन चाहन्न,’ उनले भने। उनले अर्यालको कार्यक्षमता र इमानदारिताले सदनको गरिमा बढ्ने विश्वास व्यक्त गरे।
समर्थकका रूपमा बोल्ने रास्वपा सांसद सुनील लम्सालले पनि छोटो र सटिक धारणा राख्दै अर्यालको उम्मेदवारीमा पूर्ण समर्थन जनाए। यसैगरी, सांसद तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय इतिहास र तटस्थताको महत्त्वबारे चर्चा गर्दै अर्यालले संसद्को अभिभावकीय भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसद्ले आम नागरिकका समस्या र भूमिहीनको मुद्दा प्रमुखताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। उनले संसद् केवल भाषण गर्ने थलो नभई परिणाम दिने संस्था बन्नुपर्ने अपेक्षा राखिन्।
बैठकको अन्त्यमा ज्येष्ठ सदस्य केसीले डोलप्रसाद अर्याललाई प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे। प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।