काठमाडौँ — बिहीबार सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ। यससँगै राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार अभियान औपचारिक रूपमा समाप्त भएको छ।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि सोमबार राति १२ बजेसम्म प्रचारप्रसारको समयसीमा तोकेको थियो। सो समय सकिएसँगै मतदान सम्पन्न नभएसम्म लागू रहने मौन अवधिमा कुनै पनि प्रकारको प्रचार, सभा–सम्मेलन, भाषण, छलफल, समीक्षा तथा मत माग्ने गतिविधि पूर्णतः निषेध गरिएको छ।
आयोगका अनुसार मौन अवधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने, एसएमएस वा अन्य विद्युतीय माध्यमबाट प्रभाव पार्ने प्रयास गर्न पाइने छैन। निर्वाचनलाई असर पार्ने उद्देश्यले गरिने आर्थिक लेनदेन वा अन्य गतिविधि फेला परेमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गरिनुका साथै छ वर्षसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन्।
निर्वाचन प्रक्रियामा प्रभाव पार्ने कार्यप्रति आयोगले ‘शून्य सहनशीलता’ नीति अपनाइने स्पष्ट पारेको छ। मौन अवधिको मुख्य उद्देश्य मतदातालाई दबाब, प्रलोभन र प्रचारको प्रभावबाट टाढा राखी स्वतन्त्र र विवेकपूर्ण निर्णय लिन अनुकूल वातावरण सिर्जना गर्नु हो।
यस अवधिले निर्वाचन व्यवस्थापनमा संलग्न निकाय र सुरक्षाकर्मीलाई पनि आवश्यक तयारी तथा समन्वय गर्न सहज बनाउने अपेक्षा गरिएको छ। मतदान केन्द्रको व्यवस्थापन, मतदाता लाइनको संयोजन, शान्ति सुरक्षाको अवस्थाको मूल्याङ्कन लगायतका कार्य यही समयमा गरिनेछन्।
विश्वका विभिन्न देशहरूमा २४ देखि ७२ घण्टासम्म मौन अवधि कायम गर्ने अभ्यास रहँदै आएको छ। नेपालमा पनि मतदातालाई शान्त र निष्पक्ष वातावरणमा आफ्नो रोजाइको उम्मेदवार चयन गर्न अवसर प्रदान गर्ने उद्देश्यले मौन अवधि लागू गरिएको हो।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनु अघि मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका प्रचार सामग्री र निर्वाचन चिह्न हटाइसक्नुपर्ने व्यवस्था छ। साथै, कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालमार्फत उम्मेदवार वा दलको पक्षमा प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने छैन।
मौन अवधिलाई मतदाताले ‘विवेक प्रयोग गर्ने समय’का रूपमा लिनुपर्ने आयोगको आग्रह छ।