साँखु,काठमाडौँ। साँखुमा मनाइने परम्परागत लिङ्गो उठाउने (योसिं) जात्राका लागि २०८३ सालको नयाँ योसिं आज चैत्र ८ गते ल्याइएको छ। योसिं शंखरापुर नगरपालिका–८ स्थित भुल्भु कालिका देवी सामुदायिक उपभोक्ता समिती अन्तर्गतको क्षेत्रबाट साँखु ल्याइएको हो।
योसिं गुठी साँखुका मूलपुजारी श्रीकृष्ण श्रेष्ठका अनुसार पाँच वर्षअघि प्रयोग गरिएको योसिं गत वर्ष भाँचिएपछि यसपटक नयाँ योसिं ल्याइएको हो। “नगरपालिकाको आंशिक आर्थिक सहयोगमा आज गुठियारसहित सम्पूर्ण साँखु टोलवासीहरू मिलेर नयाँ योसिं ल्याएका छौँ,” उनले बताए।
साँखुमा योसिं उठाउने परम्परा कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट प्रमाण नभए पनि नेपाल संवत् १००९ लेखिएको एउटा हलि पाटा हाल गुठीको संरक्षणमा रहेको मूलपुजारी श्रेष्ठले जानकारी दिए। उक्त अभिलेखले यो परम्परा प्राचीनकालदेखि नै चल्दै आएको संकेत गर्ने स्थानीय विश्वास रहेको छ।
गुठीले सम्पूर्ण देशवार तथा भक्तजनलाई चैत्र मसान्तको दिन चलाखु टोलस्थित महालक्ष्मी स्थानमा बिहान आयोजना हुने योसिं उठाउने कार्यक्रममा सहभागी हुन निमन्त्रणा समेत दिएको छ। यहाँको परम्पराअनुसार चैत्र मसान्तमा योसिं उठाइने र त्यसको दुई दिनपछि अर्थात् वैशाख २ गते मात्रै ढाल्ने चलन रहेको गुठीले जनाएको छ।
परम्परागत रूपमा सामूहिक सहभागितामा उठाइने योसिंलाई साँखु क्षेत्रको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा लिने गरिन्छ।