साँखुमा वातावरण संरक्षण र्‍याली सम्पन्न, सामुदायिक विद्यालयका विद्यार्थीद्वारा हरित अभियान

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ ।

साँखु क्षेत्रमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सोमबार ऐतिहासिक नगरी साँखुमा बृहत् वातावरण संरक्षण प्रभातफेरी कार्यक्रम गरि सम्पन्न गरिएको छ। शान्ती सेवा गृहको आयोजनामा तथा स्थानीय सामुदायिक विद्यालयहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममार्फत वातावरण संरक्षण, वृक्षारोपण र हरित जीवनशैलीको सन्देश समुदायसम्म पुर्‍याइएको हो।


कार्यक्रममा भगवती माध्यमिक विद्यालय, भाग्योदय माध्यमिक विद्यालय तथा क्षितिज आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले साँखु बजारका विभिन्न सडक हुँदै प्रभातफेरी र्‍याली निकाल्दै वातावरण संरक्षणसम्बन्धी सन्देश प्रवाह गरेका थिए।


र्‍यालीका क्रममा विद्यार्थीहरूले "वातावरण जोगाऔँ, रुख रोपौँ, पृथ्वी बचाऔँ", "हरियाली हाम्रो भविष्य", "स्वच्छ वातावरण, स्वस्थ जीवन" लगायतका सन्देश अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए। वातावरण संरक्षणसम्बन्धी विभिन्न नारासमेत घन्काउँदै बजार परिक्रमा गरेका विद्यार्थीहरूको अनुशासित, उत्साहपूर्ण र प्रेरणादायी सहभागिताले स्थानीयवासीको ध्यान आकर्षित गरेको थियो।


आयोजक संस्था शान्ती सेवा गृहले विगत तीन वर्षदेखि साँखु क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा क्लिनिक सञ्चालन गर्दै आएको छ। स्वास्थ्य सेवासँगै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई जोड्दै संस्थाले यस वर्ष हरित अभियानलाई विशेष प्राथमिकता दिएको जनाएको छ।


भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठले मानव स्वास्थ्य र स्वच्छ वातावरण एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै अभियानअन्तर्गत यस क्षेत्रका सामुदायिक विद्यालय परिसरमा उन्नत जातका फलफूलका बिरुवा रोपिएको जानकारी दिए। विद्यालयस्तरबाटै बालबालिकामा प्रकृतिप्रतिको जिम्मेवारी, वातावरणीय चेतना तथा वृक्षारोपण संस्कृतिको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।


सहभागी शिक्षकहरु मध्य भाग्योदय स्कुलका प्राध्यापक श्रीराम कार्किका अनुसार विद्यालय केन्द्रित वातावरणीय अभियानले विद्यार्थीमा प्रकृतिप्रेम, सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको भावना विकास गर्नुका साथै साँखुलाई थप हरियाली र स्वच्छ नगरका रूपमा स्थापित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।


शान्ती सेवा गृहले वातावरण संरक्षण, वृक्षारोपण तथा जनचेतनामूलक अभियानलाई आगामी दिनमा पनि शंखरापुर नगरपालिकाका विभिन्न विद्यालय र समुदायमा निरन्तर विस्तार गर्दै लैजाने जनाएको छ। वातावरणीय सचेतना अभिवृद्धि, हरियाली प्रवर्द्धन र स्वस्थ समाज निर्माणका लागि यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरिने संस्थाको प्रतिबद्धता रहेको छ।

प्रतिक्रिया