साँखु, शंखरापुर, ३० फागुन ।विगत केही दिनदेखि बिग्रिएको मौसम र वायु प्रदूषणका कारण आकाश धुम्मिएर घाम लाग्न नसकेको अवस्थामा शुक्रबार परेको मुसलधारे बाक्लो असिनापानीले शंखरापुर नगरपालिकाका कृषकहरूको मुख्य नगदे बाली आलु खेतीमा ठूलो क्षति पुर्याएको छ। आलुको दाना ठूलो हुने समयावधि तथा अबको २० -२५ दिनमा बित्राउने तयारीमा रहेको व्यावसायिक आलु खेती असिनाले सखाप पारेपछि स्थानीय कृषकहरू यतिबेला गम्भीर आर्थिक संकटमा परेका छन्।
लामो समयसम्म घाम नलाग्दा आलुका बिरुवाहरू पहिले नै कमजोर बनेका थिए। त्यसमाथि एक्कासी परेको ढुङ्गाजत्रा असिनाले बोटहरू पूर्ण रूपमा चुटेर कामै नलाग्ने अवस्थामा पुगेपछि कृषकहरूको करोडौं रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ।
प्रकृतिको कहरले किसान मारमा
स्थानीय कृषक सुखसागर डंगोल र सुनिल डंगोलका अनुसार पछिल्लो समय देखिएको असामान्य मौसम र दैवी प्रकोपका कारण सबैभन्दा बढी किसान वर्ग नै प्रभावित भएको बताएका छन्।
“केही दिनदेखि घाम नै लागेको थिएन। बिरुवा कमजोर भइसकेका थिए, त्यसमाथि परेको बाक्लो असिनाले खेतभरि लगाइएको आलु बाली पूर्ण रूपमा नष्ट गरिदियो,” उनीहरूले बताए।
त्यस्तै अर्का कृषक माधवलाल श्रेष्ठले नगरपालिकाले यस विषयलाई गम्भीर रूपमा लिएर पीडित कृषकहरूलाई क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
“यो केवल प्राकृतिक विपत्ति मात्र होइन, किसानको जीवनयापनसँग जोडिएको विषय हो। वडा अध्यक्ष, मेयर र उपमेयरले गम्भीर भएर कृषकलाई राहत दिलाउन पहल गर्नुपर्छ,” उनले भने।
राहतको माग गर्दै जनप्रतिनिधिसँग हारगुहार
असिनापानीले आलु खेती सखाप पारेपछि पीडित कृषकहरूले स्थानीय जनप्रतिनिधिसँग राहत र मुआब्जाको माग गर्दै ध्यानाकर्षण गराएका छन्।
कृषकहरूको समस्या बुझ्न वडा नम्बर ७ का अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ तथा नगरपालिकाकी उपमेयर समिता श्रेष्ठ,मेयर रमेश नापितसँग स्थानीयले भेटघाट गरेका छन्। भेटका क्रममा जनप्रतिनिधिहरूले कृषकहरूलाई धैर्य रहन आग्रह गर्दै क्षतिको वास्तविक विवरण संकलन गरी नगरपालिकाको आगामी कार्यपालिका बैठकमा यस विषयलाई प्राथमिक एजेन्डा बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
नगरपालिकाले जिम्मेवारी लिनुपर्ने माग
स्थानीय समाजसेवी धिरेन्द्र गिरि र सुरेन्द्र गिरिले पनि कृषकहरूलाई परेको क्षतिप्रति नगरपालिकाले जिम्मेवारी वहन गर्दै राहत तथा संरक्षणको व्यवस्था गर्ने विश्वास व्यक्त गरेका छन्।
“किसानहरू यस क्षेत्रको अर्थतन्त्रका आधार हुन्। यस्तो विपद्का बेला नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै कृषकहरूलाई उचित संरक्षण र सहयोग प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ,” उनीहरूले बताए।
स्थानीय अर्थतन्त्रमा असर पर्ने चिन्ता
आलुको पकेट क्षेत्रका रूपमा चिनिने शंखरापुर क्षेत्रमा यस वर्षको बाली नष्ट हुँदा स्थानीय अर्थतन्त्रमा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। किसानहरूले कृषि शाखामार्फत प्राविधिक टोली खटाई वास्तविक क्षतिको मूल्याङ्कन गरी राहत, क्षतिपूर्ति तथा आगामी खेतीका लागि सहुलियत कार्यक्रम ल्याउन माग गरेका छन्।
पीडित कृषकहरू अहिले नगरपालिकाबाट ठोस राहत घोषणा हुने प्रतीक्षामा छन्।