शंखरापुर, काठमाण्डौं ।
शंखरापुर नगरपालिकास्थित भाग्योदय माध्यमिक विद्यालय मा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई एक वर्षका लागि पुग्ने कपी वितरण गरिएको छ। विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सहज बनाउने उद्देश्यले आयोजित "Educational Materials Distribution Program" अन्तर्गत करिब रु. ७८ हजार ८ सय ५५ बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो।
मिति २०८३ साल असार १२ गते (२६ जुन २०२६, शुक्रबार) विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा विश्वशान्ती महासंघका अध्यक्ष निला श्रेष्ठ तथा कर्मशील महिला समूह शंखरापुरका अध्यक्ष मदनकुमारी बज्राचार्य र उहाँको टोलीको विशेष पहलमा दक्षिण कोरियाका समाजसेवी तथा शिक्षाप्रेमी डा. जुन यङ चा (Dr. Jun Young Cha) को आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमअन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई करिब ३३ क्रस कपी वितरण गरिएको विद्यालयले जनाएको छ। वितरण गरिएका कपीहरू विद्यार्थीहरूलाई पूरै एक शैक्षिक वर्षभरि पुग्ने गरी उपलब्ध गराइएको हो। यसबाट अभिभावकहरूको आर्थिक भार कम हुनुका साथै विद्यार्थीहरूलाई नियमित अध्ययनमा थप सहजता हुने विश्वास गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक रुषण बसिले सामुदायिक विद्यालयका विद्यार्थीका लागि यस्ता सहयोग अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, "यस प्रकारका सहयोगको हामीले निरन्तर अपेक्षा गरेका छौँ। यसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै विद्यालयलाई पनि ठूलो राहत मिल्नेमा हामी विश्वस्त छौँ। शिक्षा क्षेत्रमा सहयोगी मनहरू जोडिँदै जानु हाम्रो लागि प्रेरणादायी विषय हो।"
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन नापितले सामुदायिक विद्यालयको शैक्षिक विकासमा स्वदेशी तथा विदेशी सहयोगीहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। उहाँले डा. जुन यङ चा ले विभिन्न देशका बालबालिकाको शिक्षा, सपना र भविष्य निर्माणका लागि निरन्तर सहयोग गर्दै आएको चर्चा गर्दै भाग्योदय माध्यमिक विद्यालय पनि यस्तो सहयोग प्राप्त गर्ने विद्यालयमध्ये पर्नु गर्वको विषय भएको बताउनुभयो। उहाँले यस्ता सहयोगले विद्यार्थीको मनोबल बढाउनुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास पनि सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका लागि तयार गरिएको ब्यानरमा "Supporting Education, Inspiring Dreams, Building Futures" भन्ने सन्देश अंकित गरिएको थियो। यसले शिक्षा प्रवर्द्धन, बालबालिकाका सपना साकार पार्ने र उज्ज्वल भविष्य निर्माण गर्ने अभियानप्रति सहयोगी पक्षको प्रतिबद्धतालाई झल्काएको थियो। विद्यालयले पनि यही उद्देश्यलाई आत्मसात् गर्दै गुणस्तरीय शिक्षामार्फत सक्षम नागरिक उत्पादन गर्ने लक्ष्यमा अघि बढिरहेको जनाएको छ।
विद्यालय परिवारले विश्वशान्ती महासंघ, कर्मशील महिला समूह शंखरापुर, दक्षिण कोरियाका समाजसेवी डा. जुन यङ चा तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि यस्तै मानवीय तथा शैक्षिक सहयोगले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
स्थानीय अभिभावक तथा सरोकारवालाले पनि आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई लक्षित यस्ता सहयोगले शिक्षामा पहुँच विस्तार, नियमित पठनपाठन र विद्यार्थीको मनोबल वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। शिक्षा क्षेत्रमा सरकारी प्रयाससँगै समाजसेवी व्यक्ति, सामाजिक संस्था तथा अन्तर्राष्ट्रिय सहयोगीहरूको सहकार्य बढ्दै जानु नेपालको सामुदायिक शिक्षा प्रणालीका लागि सकारात्मक सन्देश भएको उनीहरूको भनाइ छ।