शंखरापुर(साँखु), काठमाण्डौं। बुद्धिचाल खेलको विकास, स्थानीय खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले शंखरापुरमा ‘ज्यापू महागुथि नेपाः सक्वो ओपन फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३’ शनिबारदेखि सुरु भएको छ।
शंखरापुर नगरपालिका–७, साँखुको सालिनदी रोडस्थित समरा गार्डेन रिसोर्टमा कात्तिक १४ र १५ गते सञ्चालन हुने प्रतियोगिताको उद्घाटन शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले गर्नुभएको हो। उद्घाटनका क्रममा नगर प्रमुख नापित र विशेष अतिथि शालिनदी यातायात प्रालिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले चेसको चाल चलेर प्रतियोगिताको औपचारिक सुरुवात गर्नुभएको थियो।
ज्यापू महागुथि नेपाः सक्वः लागाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा साँखुलगायत काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गरी १२० जना खेलाडीले नाम लेखाएता पनि अबिरल बर्षाका कारण १०९ जनाले मात्र प्रतिस्पर्धामा भाग लिएको जानकारी यस प्रतियोगिताका संयोजक जीवन मान सिंले बताएका छन्। संस्थाका अध्यक्ष किच सिंको नेतृत्वमा रहेको संस्थाले आयोजना गरेको यो पहिलो कार्यक्रम हो। उद्घाटन समारोहको सभापतित्व पनि संस्थाका अध्यक्ष किच सिंले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन योगेशमान डंगोलले गर्नुभएको थियो।
आयोजकका अनुसार प्रतियोगिता फिडे इभेन्ट कोड नम्बर ५०६१३१ अन्तर्गत सञ्चालन भइरहेको प्रतियोगिता दुई हजारभन्दा कम फिडे रेटिङ भएका खेलाडीलाई लक्षित गरी आयोजना गरिएको हो। प्रतियोगिता स्विस प्रणालीमा नौ चरणमा खेलाइनेछ। प्रत्येक खेलाडीलाई १० मिनेट समय र प्रतिचाल १० सेकेन्ड थप हुने गरी र्यापिड प्रणालीमा खेल सञ्चालन गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट २५ खेलाडीलाई कुल एक लाख सात हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। खुलातर्फ प्रथम हुने खेलाडीले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार, चौथोले छ हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
खुलातर्फका विजेतासँगै उत्कृष्ट स्थानीय खेलाडी, महिला, १६ वर्षमुनिका स्थानीय खेलाडी, अनरेटेड खेलाडी तथा ५५ वर्षमाथिका भेट्रान खेलाडीतर्फ पनि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ। यसैगरी १४, १२ र १० वर्षमुनिका खेलाडी तथा विभिन्न रेटिङ समूहमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ। एउटै खेलाडी एकभन्दा बढी विधामा पुरस्कृत हुने अवस्था आएमा बढी रकमको पुरस्कार मात्र प्रदान गरिने व्यवस्था गरिएको छ।
प्रतियोगिताको खेल सञ्चालन तथा निर्णायक व्यवस्थापनमा अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुले जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँलाई सहायक नेसनल आर्बिटर कुमार महर्जन तथा नेसनल आर्बिटर सानुराजा बज्राचार्य र शान्ति धिमालले सहयोग गरिरहनुभएको छ।
शंखरापुर नगरपालिकाको आर्थिक सहयोग तथा सम्बन्धित खेल संस्थाहरूको सहकार्यमा सञ्चालन भइरहेको प्रतियोगिताले साँखु क्षेत्रमा बुद्धिचाल खेलको प्रवर्द्धन, खेल संस्कृतिको विकास तथा नयाँ प्रतिभाको पहिचानमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास आयोजकले लिएको छ।
प्रतियोगिताका अन्तिम चरणका खेल कात्तिक १५ गते आइतबार सोही स्थानमा सञ्चालन हुनेछन्। सोही दिन प्रतियोगिताको अन्तिम नतिजा तथा खेलाडीको वरीयता सार्वजनिक गरी विजयी खेलाडीलाई पुरस्कार वितरण गरिने आयोजक समितिका अध्यक्ष किच सिं डंगोलले जानकारी दिनुभयो।