श्री जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघको ३४औँ साधारणसभा सम्पन्न

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। शंखरापुर नगरपालिका–७ साँखु काठमाण्डौंस्थित धार्मिक तथा सामाजिक सेवामा समर्पित संस्था श्री जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघको ३४औँ वार्षिक साधारणसभा शनिबार श्रद्धा, उत्साह र भव्यताका साथ सम्पन्न भएको छ। बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री राजु बिष्टको प्रमुख आतिथ्यता तथा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका १९७ जना साधारण सदस्य, धर्मप्रेमी भक्तजन, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राजु बिष्टले नेपालको पहिचान सनातन धर्म, मौलिक संस्कृति र ऐतिहासिक सम्पदासँग जोडिएको बताउनुभयो। उहाँले साँखुको गौरवको रूपमा रहेको माधवनारायण माघमेलालाई अझ व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन आवश्यक रहेको धारणा राख्नुभयो। धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षणमा धार्मिक संस्थाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले सम्पदा संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो।

साधारण सभामा संघले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि रु. २५ लाख बराबरको आर्थिक सहयोग गरेको जानकारी दिइयो। जसअन्तर्गत ऐतिहासिक श्री माधवनारायण भगवानको मन्दिरमा सुनको गजुर स्थापना गर्न रु. ५ लाख



तथा निर्माणाधीन श्री भिमसेन मन्दिरको निर्माण कार्य सम्पन्न गर्न रु. २० लाख सहयोग प्रदान गरिएको छ। संघको यस योगदानले साँखु क्षेत्रका धार्मिक सम्पदाको संरक्षण र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको प्रारम्भमा संघका वरिष्ठ उपाध्यक्ष केशव खड्काले स्वागत मन्तव्य राख्दै संस्थाको स्थापना, उद्देश्य तथा हालसम्मका उपलब्धिहरूबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन एल.पी. श्रेष्ठले गर्नुभएको थियो।

साधारणसभाका अध्यक्ष शंकर मल्ल ठकुरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले वर्षभरि सञ्चालन गरेका धार्मिक, सांस्कृतिक, सामाजिक  व्यवस्थापनसम्बन्धी गतिविधिहरूको विस्तृत जानकारी दिनुभयो। उहाँले आगामी दिनमा धार्मिक पर्यटन प्रवर्द्धन, सम्पदा संरक्षण तथा समाजसेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने बताउनुभयो।

यसैगरी संघका कोषाध्यक्ष ऋषिराम दाहालले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। पारदर्शी रूपमा प्रस्तुत गरिएको उक्त प्रतिवेदन साधारणसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको थियो।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा संरक्षक सिद्धि हर्ष बज्राचार्यले आफ्नो कार्यकालमा सम्पन्न भएका कोटि हवन, अखण्ड यज्ञ, धार्मिक जागरण तथा सांस्कृतिक संरक्षणका अभियानहरूको स्मरण गर्नुभयो। उहाँले विगतमा सुरु भएका तर अझै सम्पन्न हुन बाँकी रहेका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक योजनाहरूलाई वर्तमान कार्यसमितिले पूर्णता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

वि.सं. २०४८ साल असोज ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भई सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदमा आबद्ध भएको यो संस्था विगत तीन दशकदेखि शालीनदी क्षेत्र, माधवनारायण क्षेत्र तथा साँखुको धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै आएको छ।

संस्थाले आगामी दिनमा २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक स्वस्थानी माता मन्दिरको जीर्णोद्धार, धार्मिक पर्यटक आकर्षित गर्ने उद्देश्यले शिशमहल निर्माण, गौशालाको व्यवस्थापनका लागि उपयुक्त जग्गाको खोजी तथा देशका विभिन्न जिल्लामा संस्थाको शाखा विस्तार गर्ने योजना अघि सारेको जनाएको छ।

विशिष्ट अतिथि तथा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले शंखरापुर धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाले भरिपूर्ण नगर भएको उल्लेख गर्दै सम्पदा संरक्षणका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त अष्टमात्रिका स्वरूपको स्वस्थानी माता मन्दिरको जीर्ण भित्ताको मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।


साधारणसभाले वर्तमान कार्यसमितिको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा संघलाई अझ सशक्त, सक्रिय र जनउत्तरदायी बनाउने विभिन्न नीति तथा कार्यक्रमहरू पारित गरेको छ। धार्मिक आस्था, सनातन संस्कृति, सामाजिक सेवा तथा सम्पदा संरक्षणमा समर्पित यस संस्थाले शंखरापुर क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सहभागीहरूको भनाइ रहेको थियो।

प्रतिक्रिया