शंखरापुर (साँखु), काठमाण्डौं।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढी नजिक बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय माइक्रोबस (ईभी) दुर्घटनामा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
प्रहरी तथा सशस्त्र प्रहरी बलका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हायस बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० देखि ७०० मिटर तल भीरमा खसेको थियो। दुर्घटनाका बेला उक्त सवारीसाधनमा चालकसहित १५ जना सवार रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जना पुरुष, तीन जना महिला र दुई जना बालिका रहेका छन्। मृतकहरूको नाम, ठेगाना तथा अन्य विवरण खुलाउने र सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका पाँच जनामध्ये तीन जनालाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको छ। अस्पतालमा उपचाररत तीनै जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका बासिन्दा रहेको खुलेको छ।
घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, बालक सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन्। बाँकी घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था मिलाउने कार्य भइरहेको जनाइएको छ।
सुरक्षाकर्मीको संयुक्त टोलीद्वारा उद्धार
दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले उद्धार, घाइतेको व्यवस्थापन तथा मृतकको सनाखत प्रक्रियामा सहयोग गरिरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ।
दुर्गम तथा भिरालो स्थानमा भएको दुर्घटनाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको सुरक्षाकर्मीले जनाएका छन्। दुर्घटनास्थलमा उद्धार तथा आवश्यक व्यवस्थापनका काम जारी रहेका छन्।
यसैबीच, दुर्घटना हुनुको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतक तथा घाइतेहरूको विस्तृत विवरण संकलन गर्ने र घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने कार्यसमेत भइरहेको जनाइएको छ।