न्हुँद ११४७ को अवसरमा साँखुमा भव्य नगर परिक्रमा, नेवाः एकताको सन्देश प्रवाह

lawanyasandesh.com

शंखरापुर (साँखु), काठमाण्डौं। नेपाल संवत् ११४७ को अवसरमा न्हुँद ११४७ समिति साँखुको आयोजनामा कार्तिक २४ गते कछला थ्व पारुको दिन ऐतिहासिक तथा सांस्कृतिक नगरी साँखुमा भव्य नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको छ। महादेवस्थानबाट सुरु भएको नगर परिक्रमामा विभिन्न सङ्घसंस्था, स्थानीय पुचः, सांस्कृतिक समूह तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।


नेपाल संवत् नयाँ वर्षको स्वागत गर्दै नेवाः संस्कृति, मौलिक परम्परा र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले बाजागाजा र सांस्कृतिक झाँकीसहित नगर परिक्रमा गरेका थिए। कार्यक्रममा नेपाल एकताको आवाज घन्काउँदै विभिन्न समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक एकताको भावना अभिव्यक्त गरिएको थियो।


नगर परिक्रमाको क्रममा साँखुका विभिन्न टोलमा स्थानीयवासीले तयार पारेका आकर्षक मण्डप, कलात्मक आकृति तथा सांस्कृतिक सजावटले कार्यक्रमलाई थप मनमोहक बनाएको थियो। परम्परागत बाजागाजा र सांस्कृतिक प्रस्तुतिसहित नगरका विभिन्न टोल परिक्रमा गर्दा साँखुको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्किएको थियो।


कार्यक्रममा बागमती प्रदेशका जलस्रोत तथा खानेपानीमन्त्री राजु विष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठलगायत जनप्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


यसै अवसरमा साँखु जेसीसले आफ्नो संस्थामार्फत सम्पन्न गरेका विभिन्न सामाजिक, सांस्कृतिक तथा रचनात्मक गतिविधिलाई समेटेर प्रकाशन गरेको २४औँ स्मारिका विमोचन गरेको छ। नगरप्रमुख, उपप्रमुख तथा सम्बन्धित वडाध्यक्षहरूको हातबाट उक्त स्मारिका विमोचन गरिएको थियो। स्मारिकाले संस्थाका गतिविधि, उपलब्धि र सामाजिक योगदानलाई अभिलेखीकरण गर्दै आगामी पुस्ताका लागि संस्थागत दस्तावेजका रूपमा महत्त्व राख्ने विश्वास व्यक्त गरिएको छ।


महादेवस्थान, शङ्खधर साख्वाको सालिक रहेको स्थानबाट सुरु भएको नगर परिक्रमा साँखुका विभिन्न टोल हुँदै पुनः निर्धारित मार्गबाट सम्पन्न भई शाखा टोलमा समापन गरिएको थियो। समापनपछि साँखु जेसीसको तर्फबाट सहभागीहरूका लागि चिया तथा खाजाको व्यवस्था गरिएको थियो।


यसैगरी न्हुँद ११४७ को कार्यक्रमअन्तर्गत दिउँसो २ बजे शाखा टोलबाट पालुबारी, लप्सीफेदी र सानो गाउँ हुँदै मोटरसाइकल र्‍यालीसमेत आयोजना गरिएको थियो। साल्खा टोलबाट सुरु भएको उक्त र्‍यालीको नेतृत्व साँखु जेसीसका अध्यक्ष आशिष पुकुसी श्रेष्ठले गर्नुभएको थियो। र्‍यालीले नेपाल संवत् नयाँ वर्षको शुभकामना तथा सांस्कृतिक एकताको सन्देश प्रवाह गरेको थियो।


यसैक्रममा बिहान ११ः५० बजे न्हुँद मूल समारोह समिति ११४७ खास्ती (बौद्ध) बाट भिन्तुना र्‍यालीसहित साँखु आइपुगेको टोलीलाई न्हुँद ११४७ साँखु समितिले भव्य स्वागत गरेको थियो। स्वागतपछि र्‍यालीलाई साँखु नगर परिक्रमा गराई सम्मानपूर्वक बिदाइ गरिएको थियो।


न्हुँद ११४७ का अवसरमा आयोजित यी कार्यक्रमले साँखुको ऐतिहासिक पहिचान, नेवाः सभ्यता, मौलिक संस्कृति तथा सामुदायिक एकतालाई थप उजागर गरेको छ। स्थानीय समुदाय, सामाजिक सङ्घसंस्था र सांस्कृतिक समूहहरूको सक्रिय सहभागिताले नेपाल संवत् केवल पात्रो परिवर्तन मात्र नभई आफ्नो भाषा, संस्कृति, सम्पदा र पहिचान संरक्षण गर्ने साझा अभियानसमेत भएको सन्देश दिएको छ।


समग्रमा, न्हुँद ११४७ को अवसरमा साँखुमा आयोजित नगर परिक्रमा, स्मारिका विमोचन, भिन्तुना र्‍यालीको स्वागत तथा मोटरसाइकल र्‍यालीले ऐतिहासिक नगरी साँखुलाई उत्सवमय बनाउँदै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।



प्रतिक्रिया