शंखरापुर, काठमाडौँ । साँखु जेसीजले सञ्चालन गरिरहेको ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत शनिबार शंखरापुर–७, साँखुको कोलागाल क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। "स्वच्छ वातावरणका लागि वृक्षारोपण" भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताप्रतिको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्य राखिएको थियो।
जेसीज सप्ताहको आठौँ कार्यक्रमका रूपमा आयोजित वृक्षारोपण अभियानमा जेसी राजन के.सी. ले कार्यक्रम संयोजकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो। कार्यक्रममा वातावरणीय सन्तुलन कायम राख्ने तथा जैविक विविधताको संरक्षणमा योगदान पुग्ने विश्वासका साथ सिरिस, धुपी तथा असारे प्रजातिका बिरुवाहरू रोपिएका थिए।
कार्यक्रममा साँखु जेसीजका पूर्वअध्यक्षहरू, कार्यसमितिका पदाधिकारी, साधारण सदस्य तथा स्थानीयवासी गरी करिब ४० देखि ५० जना को उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई भावी पुस्तालाई स्वच्छ र हरित वातावरण हस्तान्तरण गर्ने साझा अभियानका रूपमा ग्रहण गरेका थिए।
कार्यक्रमको समापन गर्दै साँखु जेसीज वर्ष–२०२६ का अध्यक्ष जेसी आशीष श्रेष्ठ (पुखुसी) ले बिरुवा रोप्नु मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यसको नियमित संरक्षण, स्याहार–सम्भार र हुर्काइमा सबैको समान जिम्मेवारी रहने बताउनुभयो। उहाँले हरित वातावरण निर्माणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको भन्दै यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जेसीज नेपाल र साँखु जेसीज को संयुक्त आयोजनामा, Aim Act Achieve तथा Project Sankalpa 2026 को सहकार्यमा सम्पन्न कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ।
साँखु जेसीजले युवाको नेतृत्व विकाससँगै वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र सामुदायिक सेवामूलक गतिविधिलाई प्राथमिकतामा राख्दै जेसीज सप्ताहअन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले "हरित वातावरण, स्वस्थ जीवन" को सन्देशलाई व्यवहारमा उतार्ने यस्ता अभियानलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।