शंखरापुर, काठमाडौं — ज्यापु महागुथि नेपाः सक्वः लागाको प्रथम साधारणसभाले किच सिंहको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नेपाल सम्बत् ११४६ दिल्लागा तृतीया तथा विक्रम संवत् २०८३ साल श्रावण १६ गते शनिबार शंखरापुर नगरपालिका–७ महादेवस्थानस्थित बज्रज्याती काष्ठ उद्योग (ज्योतिलिङ्गेश्वर क्षेत्र) मा सम्पन्न साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै संस्थाको भावी कार्यदिशासमेत तय गरेको हो।
ज्यापु समाज शंखरापुरका अध्यक्ष रामकृष्ण सिंह डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्यापु समुदायका अग्रज, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा समुदायको संगठनात्मक सुदृढीकरण, सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।
साधारणसभाले अध्यक्षमा किच सिंह, उपाध्यक्षद्वय जमुना डंगोल र दिपेन्द्र लाल सिंह, सचिवमा योगेश मान डंगोल, सह–सचिवमा विष्णु देवी सिंह डंगोल, कोषाध्यक्षमा रजायक लाल सिंह तथा सह–कोषाध्यक्षमा श्याम डंगोललाई सर्वसम्मत रूपमा चयन गरेको छ।
त्यसैगरी सदस्यहरूमा हरिभक्त डंगोल, श्रीप्रसाद डंगोल, रामकृष्ण डंगोल, सुधा डंगोल, रविन डंगोल, अष्टनारायण अवाल, रामगोपाल महर्जन, रामप्रसाद डंगोल, गंगालाल डंगोल, रमिता डंगोल, सलिना सिंह, श्रीलाल डंगोल, जीवनमान सिंह तथा सरस्वती डंगोल चयन हुनुभएको छ।
साधारणसभाले ज्यापु समुदायको ऐतिहासिक पहिचान, मौलिक भाषा, संस्कृति, परम्परा, कला तथा सभ्यताको संरक्षण र प्रवर्द्धनलाई संस्थाको प्रमुख प्राथमिकतामा राख्दै समुदायको हकहित, सामाजिक एकता र अधिकार सुदृढीकरणका लागि योजनाबद्ध ढङ्गले अघि बढ्ने निर्णय गरेको छ। युवापुस्तालाई संस्थागत गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने, परम्परागत ज्ञान र संस्कृतिको पुस्तान्तरण गर्ने तथा सामाजिक सेवामूलक र रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष किच सिंहले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै सम्पूर्ण ज्यापु समुदायको प्रतिष्ठा उँचो बनाउने, संगठनलाई थप सक्रिय, पारदर्शी र उत्तरदायी बनाउने तथा समुदायले गौरव गर्ने खालका दीर्घकालीन र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सबैको सहकार्य, एकता र सहभागितामार्फत संस्थालाई अझ सशक्त बनाउँदै समुदायको साझा हितका पक्षमा दृढतापूर्वक काम गर्ने बताउनुभयो।
कार्यक्रममा वक्ताहरूले ज्यापु समुदायको मौलिक पहिचान संरक्षणसँगै भाषा, संस्कृति र सम्पदाको जगेर्ना वर्तमान पुस्ताको साझा दायित्व भएको उल्लेख गर्दै नयाँ नेतृत्वले समुदायलाई अझ संगठित, सक्षम र क्रियाशील बनाउने विश्वास व्यक्त गरेका थिए। उनीहरूले परम्परा र आधुनिकतालाई सन्तुलित रूपमा अघि बढाउँदै सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र समुदायको समग्र विकासमा नयाँ कार्यसमितिले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त गरेका थिए।
साधारणसभाको अन्त्यमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ज्यापु महागुथि नेपाः सक्वः लागालाई समुदायको साझा, सशक्त र प्रभावकारी संस्थाका रूपमा थप उचाइमा पुर्याउने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।