भोटेकोशी–त्रिशूली बाढी : जलवायु संकटको संकेतसँगै शिक्षकहरूको अदम्य साहस

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत त्रिशूली नदी तटीय क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ भने सयौँ परिवार विस्थापित भएका छन्। प्राकृतिक विपद्को यस घटनाले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।


प्रारम्भिक विश्लेषणअनुसार चीनको तिब्बतस्थित केरुङ क्षेत्रको दोङलिङ साङ्पो खोलामा ठूलो पहिरो खसेर नदी थुनिएपछि बनेको अस्थायी ताल फुट्दा आकस्मिक रूपमा ठूलो मात्रामा पानी नेपालतर्फ आएको हुन सक्ने विज्ञहरूले बताएका छन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमताल तथा हिमनदीजन्य जोखिमसमेत बढिरहेको विज्ञहरूको भनाइ छ।

नेपालका जलाधार क्षेत्रमा रहेका हजारौँ हिमतालमध्ये जोखिमयुक्त हिमतालको संख्या उल्लेख्य रहेको र तीमध्ये केही जुनसुकै बेला विस्फोट हुन सक्ने अवस्थालाई विज्ञहरूले गम्भीर प्राकृतिक जोखिमका रूपमा औँल्याउँदै आएका छन्। भोटेकोशी–त्रिशूली बाढीले हिमाली तथा पहाडी क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली, जोखिम नक्साङ्कन र पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।


राज्य संयन्त्र उद्धारमा सक्रिय

बाढीको सूचना प्राप्त भएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। हेलिकप्टरलगायत माध्यमबाट जोखिममा परेका नागरिकको उद्धार गरिएको छ भने घाइतेको उपचारका लागि काठमाडौंका अस्पतालमा आवश्यक व्यवस्थापन गरिएको छ।


बाढीले बगाएर ल्याएका शव तनहुँको देवघाट तथा आँबुखैरेनी क्षेत्रमा समेत फेला परेका छन्। प्रभावित क्षेत्रमा खानेपानी, खाद्यान्न, औषधि तथा अस्थायी आवासको व्यवस्था मिलाउने कार्यसमेत अघि बढाइएको छ। सडक, पुल, विद्युत् तथा खानेपानीजस्ता आधारभूत संरचनामा पुगेको क्षतिको विवरण संकलन गरी पुनःस्थापनाको तयारी भइरहेको छ।


१,६४३ विद्यार्थी जोगाउने शिक्षकहरूको साहस

यस विपद्का बीच नुवाकोटको त्रिशूली बजारमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका शिक्षकहरूले देखाएको साहस र सूझबुझ प्रेरणादायी बनेको छ।

बाढीको तीव्र बहाव त्रिशूली बजारतर्फ बढिरहेका बेला विद्यालयमा अध्ययनरत १,६४३ विद्यार्थी तथा महिला छात्रावासमा रहेका ३० छात्रा जोखिममा परेका थिए। बिहान करिब ९ः१५ बजे बाढीको गर्जन सुन्नेबित्तिकै प्रधानाध्यापक राजेन्द्र दवाडी र शिक्षक प्रदीप पण्डितलगायत शिक्षकहरू तत्काल विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजान सक्रिय भएका थिए।


आफ्नो सुरक्षाभन्दा विद्यार्थीको जीवनलाई प्राथमिकता दिँदै शिक्षकहरूले विद्यालय खाली गराएर बालबालिकालाई सुरक्षित डाँडातर्फ पठाएका थिए। विद्यार्थीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएपछि प्रधानाध्यापक दवाडी अन्तिममा विद्यालयबाट बाहिरिएको बताइएको छ।

सञ्चार तथा विद्युत् सेवा अवरुद्ध भएपछि ‘सबै विद्यार्थी बाढीमा बगे’ भन्ने गलत सूचना फैलिएको थियो। तर, शिक्षकहरूको समयमै गरिएको उद्धार प्रयासका कारण विद्यालयका सबै विद्यार्थी तथा छात्रावासका छात्राहरू सुरक्षित रहन सफल भएका छन्।

विपद्का बेला देखाइएको शिक्षकहरूको यो साहस केवल तत्कालीन उद्धारको घटना नभई जिम्मेवारी, मानवीय संवेदना र कर्तव्यनिष्ठाको उदाहरण बनेको छ।

पुनःस्थापना र पूर्वतयारीमा जोड


विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको सुरक्षित पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।

भोटेकोशी–त्रिशूली बाढीले प्राकृतिक विपद् रोक्न नसकिए पनि पूर्वसूचना, जोखिम पहिचान, सुरक्षित स्थानको पूर्वनिर्धारण र समुदायस्तरको तयारीबाट मानवीय क्षति न्यून गर्न सकिने स्पष्ट सन्देश दिएको छ। आगामी दिनमा हिमाली क्षेत्रका जोखिमयुक्त हिमताल र जलाधारको निरन्तर निगरानी गर्दै जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति अवलम्बन गर्नुपर्ने देखिएको छ।


यस दुःखद् विपदमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी तीव्र बनाउन, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्न तथा प्रभावित परिवारलाई राज्य र समाजका सबै पक्षबाट सहयोग र सहकार्य बढाउन आवश्यक छ।

प्रतिक्रिया