१५ औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ३ एकजुट भएर अघि बढ्ने

lawanyasandesh.com

शंखरापुर, काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ३ को आयोजनामा बिहीबार जोरपाटीमा बृहत् क्षेत्रीय भेला सम्पन्न भएको छ।


महाधिवेशनको तयारी, सांगठनिक गतिविधि तथा पार्टीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित भेलामा क्षेत्र नं. ३ अन्तर्गतका नेता, कार्यकर्ता तथा विभिन्न तहका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेलामा आगामी अधिवेशनलाई मर्यादित, लोकतान्त्रिक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्दै संगठनलाई थप एकताबद्ध र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।


कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी संगठनलाई समयानुकूल रूपमा सुदृढ, गतिशील र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीको महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने प्रक्रियाका रूपमा मात्र नलिई संगठनको पुनर्संरचना, कार्यकर्ताको सक्रियता र जनअपेक्षा सम्बोधन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो।


महामन्त्री पौडेलले पार्टीको आधारभूत संगठन वडा तहदेखि नै बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै अधिवेशन प्रक्रियामा नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता, आपसी समन्वय र लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले संगठनलाई जनतासँग थप नजिक जोड्दै पार्टीका नीति, कार्यक्रम र गतिविधिलाई प्रभावकारी रूपमा जनस्तरसम्म पुर्‍याउनुपर्नेमा समेत जोड दिनुभयो।


भेलाले आगामी अधिवेशनका क्रममा संगठनभित्र देखिएका मतभेदलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर अघि बढ्ने सन्देश दिएको छ। अधिवेशनका क्रममा प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई पार्टीको सांगठनिक एकता र लोकतान्त्रिक संस्कारलाई बलियो बनाउने माध्यमका रूपमा लिनुपर्नेमा सहभागीहरूको जोड थियो।


क्षेत्रीय सभापति सन्तोष चालिसेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, क्षेत्रीय सचिवद्वय दीपक रिसाल र भुवन लामा, बागमती प्रदेश सदस्य छिरिङ दोर्जे लामा, क्षेत्र नं. ३ ‘क’ का सभापति श्रीराम चालिसेलगायत नेता तथा विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा सहभागी वक्ताहरूले पार्टीको आगामी अधिवेशनलाई निष्पक्ष, मर्यादित, पारदर्शी र लोकतान्त्रिक ढङ्गबाट सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले संगठनलाई चलायमान बनाउन नियमित सांगठनिक गतिविधि, कार्यकर्ताबीच समन्वय तथा जनताका समस्या र अपेक्षासँग पार्टीलाई जोड्दै लैजानुपर्ने धारणा व्यक्त गरे।


क्षेत्र नं. ३ को भेलाले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको सांगठनिक संरचनालाई थप प्रभावकारी बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। भेलामा पार्टीको आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै नयाँ पुस्ता, महिला तथा विभिन्न समुदायको सहभागितालाई समेत प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिइएको थियो।

महाधिवेशनको तयारी तीव्र


नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया अहिले क्रमशः अगाडि बढिरहेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको परिमार्जित कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन २०८३ असोज ३ र ४ गते, गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म आयोजना हुनेछ।

महाधिवेशनका लागि वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन हुँदै पालिका र क्षेत्रीय अधिवेशनमार्फत माथिल्लो तहका नेतृत्व तथा प्रतिनिधि चयन हुनेछन्। कांग्रेसले अधिवेशन प्रक्रियालाई लोकतान्त्रिक अभ्यास, संगठनात्मक पुनर्संरचना र पार्टीभित्रको सहभागिता विस्तार गर्ने अवसरका रूपमा अघि बढाइरहेको जनाएको छ।


काठमाडौँ क्षेत्र नं. ३ को क्षेत्रीय भेलाले पनि यही सांगठनिक प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउँदै अधिवेशनमा सक्रिय सहभागिता जनाउने र क्षेत्रीय संगठनलाई थप सुदृढ बनाउने सन्देश दिएको छ।

प्रतिक्रिया