शंखरापुर काठमाडौं — हरितालिका तीजका अवसरमा देशभरका प्रमुख शिव मन्दिरमा भक्तजनको भीड लागेको छ। काठमाडौंको पशुपतिनाथलगायत विभिन्न शिवालयमा दर्शन तथा पूजाआजा गर्ने महिला दिदीबहिनीको उल्लेख्य उपस्थिति देखिएको छ।
यसै क्रममा शंखरापुर–७, साँखुस्थित ऐतिहासिक ज्योतिर्लिङ्गेश्वर महादेवस्थानमा पनि तीज मनाउन आउने महिला भक्तजनको बाक्लो भीड देखिएको छ। बिहानैदेखि मन्दिर परिसरमा महिला दिदीबहिनीको चहलपहल बढेको थियो।
३४औँ ज्योतिर्लिङ्गेश्वर मन्दिर महादेवस्थानमा तीजका अवसरमा दर्शन तथा पूजाआजा गर्न साँखु तथा आसपासका क्षेत्रबाट भक्तजन आएका थिए। परम्परागत पहिरनमा सजिएका महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।
साँखुको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ज्योतिर्लिङ्गेश्वर महादेवस्थानमा तीजका अवसरमा हरेक वर्ष भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ। यस वर्ष पनि मन्दिर परिसरमा देखिएको बाक्लो भीडले साँखुको धार्मिक महत्वलाई थप उजागर गरेको छ।
देशका प्रमुख शिवालयमा जस्तै साँखुको ज्योतिर्लिङ्गेश्वरमा पनि तीजका दिन देखिएको भक्तजनको उपस्थितिले स्थानीय धार्मिक पर्यटन र सांस्कृतिक गतिविधिमा थप चहलपहल ल्याएको छ।