कांग्रेसभित्र बढ्दो ध्रुवीकरण : महाधिवेशनको तयारीसँगै नयाँ पार्टी गठनको संकेत

lawanyasandesh.com

साँखु,काठमाण्डौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब केवल गुटगत असन्तुष्टिमा सीमित नरही पार्टी विभाजनको सम्भावनातर्फ उन्मुख भएको संकेत देखिन थालेको छ । विशेष महाधिवेशनपछि चर्किएको संस्थापन र इतर समूहबीचको दूरी झन् बढ्दै जाँदा दुवै पक्षले समानान्तर राजनीतिक रणनीति अघि बढाउन थालेका छन् ।

पूर्वउपसभापति विमलेन्द्र निधि ले विशेष महाधिवेशन नै पार्टी फुटाउने उद्देश्यले गरिएको दाबी गरेपछि कांग्रेसभित्रको विवाद सतहमै आएको छ । उनले विशेष महाधिवेशन पक्षधरहरूले अहिलेसम्म संवाद नगरेको आरोप लगाउँदै इतर समूह १५औँ महाधिवेशनको तयारीमा सक्रिय भइसकेको बताएका छन् ।

धनुषा पुगेका निधिले आफूहरू छुट्टै सम्पर्क कार्यालय स्थापना गर्ने तयारीमा रहेको खुलासा गर्दै आगामी रणनीति निर्माणका लागि सातै प्रदेशमा नेता–कार्यकर्तासँग छलफल सुरु भइसकेको बताए । उनका अनुसार पार्टी सभापति गगन थापा ले एकताका लागि ठोस प्रस्ताव ल्याउने आश्वासन दिए पनि हालसम्म कुनै ठोस पहल नदेखिएको इतर समूहको निष्कर्ष छ ।

इतर समूहका नेताहरूले १५औँ महाधिवेशन सम्पर्क कार्यालय खोल्ने तयारी गरिरहेका छन् । समूह निकट नेता मीन विश्वकर्माले विशेष महाधिवेशनपछि सानेपास्थित पार्टी संरचनामा आफूहरूको भूमिका समाप्तजस्तै बनेको भन्दै छुट्टै संगठनात्मक अभ्यास आवश्यक भएको बताएका छन् ।

जरा अभियान बहिष्कार गर्दै शक्ति प्रदर्शन

कांग्रेसले अहिले एक महिने ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ, जसअन्तर्गत डिजिटल माध्यमबाट क्रियाशील सदस्यता अद्यावधिक गरिँदैछ । संस्थापन पक्षले यसलाई पार्टी संगठन सुदृढीकरणको अभियान भने पनि खड्का समूहले बहिष्कार गर्दै आएको छ ।

इतर समूहले प्रदेशस्तरीय भेला र शक्ति प्रदर्शनलाई तीव्रता दिएको छ । कोशीदेखि सुदूरपश्चिमसम्म विभिन्न नेताहरूलाई संयोजन जिम्मेवारी दिइएको छ । सुर्खेत, विराटनगर र काठमाण्डौंमा भेला सम्पन्न भइसकेका छन् भने पोखरा, मधेश र लुम्बिनीमा कार्यक्रमको तयारी भइरहेको बताइएको छ ।

राजनीतिक वृत्तमा अहिले सबैभन्दा बढी चर्चा भने “पार्टी एकता वा नयाँ पार्टी” को सम्भावनालाई लिएर भइरहेको छ । खड्का समूह निकट एक नेताका अनुसार १५औँ महाधिवेशनमा सम्मानजनक भूमिका पाए एकता कायम रहने, अन्यथा नयाँ राजनीतिक विकल्प निर्माणको बाटो खुला रहने संकेत दिएका छन् ।

नयाँ पार्टीको नेतृत्वमा निधि वा प्रकाशमान ?

इतर समूहभित्र नयाँ पार्टी गठनको बहससमेत सुरु भएको स्रोतहरूको दाबी छ । सम्भावित नेतृत्वका रूपमा प्रकाशमान सिंह र विमलेन्द्र निधिको नाम चर्चामा आएको बताइन्छ ।

समूहभित्र हाल पूर्णबहादुर खड्का लाई कार्यवाहक नेतृत्वका रूपमा स्वीकार गर्दै रणनीति निर्माण भइरहेको छ । यद्यपि अन्तिम अवस्थामा शक्ति सन्तुलन र राजनीतिक परिस्थिति हेरेर निर्णय लिइने नेताहरूको भनाइ छ ।

इतर समूहले विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई एकीकृत गर्नुपर्ने ‘बटम लाइन’ राखेको छ । नेता श्याम घिमिरेले आधा कांग्रेसलाई बाहिर राखेर पूर्ण कांग्रेस बन्न नसक्ने चेतावनी दिएका छन् ।

संस्थापनको सन्देश : “सबै मिलेर १०० प्रतिशत कांग्रेस”

विशेष महाधिवेशनपछि सभापति गगन थापाले बाहिर रहेका १९ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि इतर समूहले त्यसलाई एकताविरोधी कदमको रूपमा लिएको थियो ।

उपसभापति विश्वप्रकाश शर्मा ले भने अब “६०–४० को राजनीति” अन्त्य गरी सबै मिलेर “१०० प्रतिशत कांग्रेस” बनाउनुपर्ने बताएका छन् । पोखरामा आयोजित कार्यक्रममा उनले पार्टी सबैको भएकाले असन्तुष्ट पक्षलाई पनि समेट्ने प्रयास भइरहेको बताएका थिए ।

कांग्रेस प्रवक्ता देवराज चालिसे ले पनि विधानभित्र रहेर समाधान खोज्न सकिने दोहोर्‍याएका छन् । उनका अनुसार सभापति स्वयं संवादमा सक्रिय छन् र पार्टी एकताका लागि अधिकतम लचकता अपनाइनेछ ।

तर, पछिल्ला गतिविधिले कांग्रेसभित्रको शक्ति संघर्ष अब केवल संगठनात्मक असन्तुष्टिमा सीमित नरही भविष्यको राजनीतिक ध्रुवीकरणतर्फ उन्मुख भएको संकेत दिएको छ । १५औँ महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र एकता कायम रहने वा नयाँ राजनीतिक समीकरण जन्मिने भन्ने प्रश्न अहिले नेपाली राजनीतिमा चासोको केन्द्र बनेको छ ।

प्रतिक्रिया