साँखु,काठमाडौँ । प्रहरीले राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न विशेष अपरेसन सञ्चालन गर्दै विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । गएराति सञ्चालन गरिएको अपरेसनका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १३ जना र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ४ जनालाई नियन्त्रणमा लिएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा ‘काभ्रेली शम्धि समूह’मा आबद्ध भनिएका सञ्जि लामा, सिन्धुपाल्चोक घर भएका अशोक गिरी तथा सुरेश गुरुङ ‘किमजोङ’ लगायत रहेका छन् । प्रहरीका अनुसार गुरुङ गुन्डा नाइके श्याम लामा समूहका सदस्य हुन् ।
यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रवीण तामाङ श्याम लामा समूहमा आबद्ध रही बौद्ध क्षेत्रमा सक्रिय थिए । बिर्जु महर्जन कालंकी र बाफल क्षेत्रमा, सुजन कार्की कालंकी आसपास तथा सरु हुमागाईँ स्युचाटार क्षेत्रमा गुण्डागर्दी गतिविधिमा संलग्न रहेको आरोप छ ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ । राजधानीमा आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता अपरेसन निरन्तर जारी रहने प्रहरीको भनाइ छ ।