धुँल्लाटोल–स्वाँला सडकमा ढुङ्गा छपाई तीव्र स्थानीय सहमतिपछि विवादरहित रूपमा अघि बढ्यो निर्माण कार्य

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। शंखरापुर नगरपालिका वडा नं. ६ र ७ अन्तर्गत धुँल्लाटोलको स्वाँला क्षेत्र हुँदै जाने सडकमा ढुङ्गा छपाई कार्य तीव्र गतिमा अघि बढाइएको छ। स्थानीय सरोकारवालाबीच सहमति जुटेपछि निर्माण कार्य अहिले विवादरहित रूपमा सञ्चालन भइरहेको हो।

वैशाख ११ गते वडा नं. ६ र ७ का सरोकारवालाहरू, दुवै वडाका अध्यक्ष, शहरी विकास मन्त्रालयका इन्जिनियर तथा निर्माण कम्पनीका प्रतिनिधिबीच बसेको संयुक्त छलफलले हाल कायम रहेको सडकको सतहभन्दा थप उचाइ नबढाइने निष्कर्ष निकालेपछि वैशाख २८ गतेदेखि स्थानीयको सहयोगमा निर्माण कार्य अगाडि बढाइएको बताइएको छ।



स्थानीयवासीका अनुसार सहमतिपछि ढुङ्गा छपाइ कार्य धमाधम भइरहेको छ भने सडक निर्माणलाई दिगो र जनमैत्री बनाउने उद्देश्यले आवश्यक पूर्वाधार व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ।


छलफलमा सडक निर्माण अघि ढल, खानेपानी तथा विद्युत् लाइनको व्यवस्थापन अनिवार्य गर्नुपर्ने, सडकको उचाइ निर्धारण गर्दा स्थानीय घर संरचना तथा वर्षायाममा हुनसक्ने जोखिमलाई ध्यान दिनुपर्ने र अग्ला–होचा भागलाई समायोजन गरेर मात्रै निर्माण अगाडि बढाउनुपर्ने विषयमा विशेष जोड दिइएको थियो।
स्थानीयवासीले आयोजना अघि बढाउन पहल गरेको भन्दै नेपाली काङ्ग्रेस नेतृत्वको सरकारका तत्कालीन शहरी विकास मन्त्री तथा संविधानसभा सदस्य प्रकाशमान सिंह प्रति धन्यवाद व्यक्त गरेका छन्। यद्यपि, केही सहभागीले बजेट विनियोजन मात्र पर्याप्त नभई कार्यान्वयन प्रक्रिया पनि पारदर्शी, दिगो र जनमुखी हुनुपर्ने धारणा राखेका छन्।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको साँखु क्षेत्रको पूर्वाधार विकास गर्दा स्थानीय आवश्यकता, भौगोलिक अवस्था र दीर्घकालीन प्रभावलाई मध्यनजर गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्। विकासलाई सहमति, समन्वय र दीर्घकालीन सोचसहित अघि बढाउनु नै अबको मुख्य चुनौती रहेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया