असार १५ मा उत्साहभन्दा बढी किसानको चिन्ता : पानी र मल अभावले शंखरापुरको धान खेती संकटमा

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन देशभर विविध कार्यक्रमका साथ मनाइँदै गर्दा कृषि उत्पादनका लागि परिचित शंखरापुर नगरपालिकाको साँखु क्षेत्रमा पनि असार १५ धान रोपाइँको उल्लास, असारे गीत र दही–चिउराको स्वादसँगै मनाइयो। तर उत्सवमय वातावरणबीच पर्याप्त वर्षा नहुनु, रासायनिक मलको अभाव र सिँचाइ समस्याले किसानहरू गम्भीर चिन्तामा देखिएका छन्।

धान दिवसको अवसरमा किसानहरू परम्परागत शैलीमा खेतमा धान रोप्दै असारे गीत गाइरहेका थिए भने गाउँभर दही–चिउरा खाने परम्परा पनि उत्साहपूर्वक निभाइयो। तर अधिकांश किसानको एउटै गुनासो थियो– समयमै पानी र मल नपाउँदा यस वर्षको धान उत्पादन जोखिममा परेको छ।

स्थानीय कृषकहरूका अनुसार यस वर्ष मनसुन अपेक्षाअनुसार सक्रिय हुन नसक्दा वर्षाको भरमा रहेका अधिकांश खेतमा अझै धान रोप्न सकिएको छैन। सिँचाइ सुविधा पुगेका केही क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ भने अन्यत्र किसानहरू आकाशे पानीकै प्रतीक्षामा छन्।

साँखुका कृषक तथा दुग्ध व्यवसायी गणेश दुलालले राष्ट्रिय धान दिवसका अवसरमा करिब एक हजार लिटर दूधबाट तयार गरिएको दही सहज रूपमा बिक्री भएको जानकारी दिए। करिब दुई दशकदेखि वैदेशिक रोजगारीको बाटो रोज्नुभन्दा स्वदेशमै केही गर्ने अठोटका साथ कृषि तथा दुग्ध व्यवसायमा लागेका दुलालले शंखरापुर–५ पालुवारीस्थित गणेश दुग्ध केन्द्र सञ्चालन गर्दै जोरपाटीस्थित मेडिकल कलेज परिसरमा समेत बिक्री केन्द्र विस्तार गरेका छन्। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान दिवसमा दहीको माग उल्लेखनीय रूपमा बढेको छ। उनले धान दिवसको परम्पराले दुग्ध व्यवसायीलाई समेत राम्रो आर्थिक लाभ पुगेको बताए।

कृषक रवि श्रेष्ठले धान रोपाइँ सम्पन्न भए पनि वर्षा नहुँदा बिरुवा जोगाउन कठिन भइरहेको बताए। उनले भने, "धान रोपिसकेका खेत नै सुक्न थालेका छन्। सिँचाइ पुगेका क्षेत्रमा पनि यस्तो अवस्था छ भने वर्षाको भरमा रहेका खेतमा झन् ठूलो समस्या छ।"

त्यस्तै शंखरापुर–देउरालीका कृषक ईश्वरी प्रसाद दंगालले असार १५ सम्म पनि पर्याप्त वर्षा नपरेकाले आफूले धान रोप्न नसकेको बताए। अबको केही दिनभित्र रोपाइँ गर्न नसके ब्याडमा रहेको बिरुवा पहेँलो भई उत्पादनमा प्रत्यक्ष असर पर्ने उनको चिन्ता छ।

किसान रामेश्वर श्रेष्ठले रोपिएको खेतमै माटो चिरा पर्न थालेको भन्दै यस्तो अवस्था निरन्तर रहे उत्पादनमा ठूलो गिरावट आउने बताए।

स्थानीय कृषक सुस्मिता घ्लानले सरकारले आवश्यक परिमाणमा रासायनिक मल उपलब्ध गराउन नसकेको, पशुपालन घट्दै गएकाले जैविक मलसमेत अभाव हुन थालेको र त्यसले कृषि उत्पादन प्रभावित भएको बताइन्।

यस्तै किसान शिवराम श्रेष्ठले समयमै वर्षा र मल दुवै नपाएकाले यस वर्ष शंखरापुर क्षेत्रमा धान उत्पादन घट्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकाय न.पा मेयर रमेश नापित बोल्ने एउटा गर्ने एउटा प्रवृत्तिको रहेको ठहर गर्दै  तत्काल मल आपूर्ति र सिँचाइ व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

यसैबीच राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले नेपाल कृषिप्रधान देश भए पनि पछिल्लो समय कृषि उत्पादनभन्दा आयातमा निर्भरता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले किसानको सम्मान, कृषि पेशाप्रतिको आकर्षण र स्थानीय उत्पादनको प्रवर्द्धन आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले कृषिप्रति नयाँ पुस्तालाई प्रेरित गर्ने विश्वास व्यक्त गरे।

नगर प्रमुख नापितले महिलाहरूलाई कृषि उद्यमतर्फ प्रेरित गर्दै आएको विशम्भरा महिला समूहको प्रशंसा गर्दै स्थानीय उत्पादनको संरक्षण र कृषिमा आत्मनिर्भरता नै देश समृद्धिको आधार हुने बताए।

कार्यक्रममा बोल्दै शंखरापुर–५ पालुवारीस्थित विशम्भरा महिला समूहकी प्रतिनिधि इन्दिरा वाइबाले शंखरापुरको स्थानीय धानलाई ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित गराउनुपर्नेमा जोड दिइन्। उनले स्थानीय सरकारले यस विषयलाई प्राथमिकतामा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै स्थानीय जातको धान संरक्षण र प्रवर्द्धनमार्फत किसानको आम्दानी बढाउन सकिने धारणा राखिन्।

कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने शंखरापुर क्षेत्रमा यस वर्ष राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाइए पनि किसानहरूको मुख्य माग भने समयमै पर्याप्त वर्षा, सहज रूपमा रासायनिक मल उपलब्धता, भरपर्दो सिँचाइ व्यवस्था तथा स्थानीय धानको संरक्षण र बजार प्रवर्द्धन रहेको देखिएको छ।

किसानहरूले तत्काल यी समस्याको समाधानतर्फ राज्यको ध्यान नगए आगामी धान उत्पादनमा उल्लेखनीय गिरावट आउन सक्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा असार १५ को उत्साह मात्र पर्याप्त हुँदैन, किसानलाई समयमै पानी, मल, बजार र नीतिगत सहयोग उपलब्ध गराउन सके मात्रै नेपालको कृषि र किसान दुवै सुरक्षित रहन सक्छन्।

प्रतिक्रिया