शंखरापुर, काठमाण्डौं। शंखरापुर क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै उल्लेखनीय कार्यसम्पादन गर्नुभएका प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक रमेश थापाको सरुवा भएको छ। करिब १३ महिना लामो सफल कार्यकाल पूरा गरी उहाँ काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा हुनुभएको हो। उहाँको स्थानमा सर्वोच्च अदालत सुरक्षा व्यवस्थापनमा कार्यरत रहनुभएका प्रहरी निरीक्षक मणिराम थापा साँखु प्रभागको नयाँ प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न आउनुभएको छ।
यस अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी साझेदारी संस्थाहरूको आयोजनामा निवर्तमान प्रहरी निरीक्षक थापाको सम्मान तथा विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साथै नयाँ प्रमुख प्रहरी निरीक्षक मणिराम थापालाई स्वागत तथा शुभकामना व्यक्त गरिएको छ।
समुदायबाट भव्य सम्मान र धन्यवाद
सामुदायिक प्रहरी सेवा केन्द्र साँखुका अध्यक्ष एल.पी. श्रेष्ठको अध्यक्षता तथा शंखरापुर नगरपालिका वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, भद्रभलादमि सञ्चारकर्मी, व्यवसायी तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले प्रहरी निरीक्षक रमेश थापाले आफ्नो कार्यकालमा निष्पक्ष, जिम्मेवार र जनमैत्री प्रहरी नेतृत्व प्रदान गरेको उल्लेख गर्दै उहाँको योगदानको उच्च प्रशंसा गरेका थिए। उनीहरूले शंखरापुर क्षेत्रमा कानुनी शासनको प्रत्याभूति, अपराध नियन्त्रण तथा समुदायसँगको सुदृढ सम्बन्ध निर्माणमा थापाले खेलेको भूमिका अनुकरणीय रहेको बताए।
वक्ताहरूले आगामी कार्यजीवन अझ सफल, सम्मानित तथा उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले साँखुमा पुर्याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने धारणा राखेका थिए।
चुनौतीपूर्ण परिस्थितिमा प्रभावकारी नेतृत्व
प्रहरी निरीक्षक रमेश थापाको कार्यकाल शंखरापुर क्षेत्रका लागि चुनौतीपूर्ण भए पनि उपलब्धिमूलक रह्यो। विशेषगरी देशव्यापी ‘जेन–जी आन्दोलन’ को क्रममा उत्पन्न जटिल परिस्थितिमा उहाँले उच्च व्यावसायिकता, धैर्यता र नेतृत्व क्षमता प्रदर्शन गर्दै प्रहरी संरचना तथा सार्वजनिक सुरक्षाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीयवासीहरूको भनाइ छ।
आन्दोलनका क्रममा क्षतिग्रस्त तथा जिर्ण बनेको प्रहरी चौकीलाई छोटो समयमै पुनः सञ्चालनमा ल्याई सेवा प्रवाहलाई नियमित बनाउनु उहाँको कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। चौकी पुनःस्थापना तथा संगठनको मनोबल उकास्न उहाँले खेलेको भूमिकाको स्थानीय समुदायले खुलेर प्रशंसा गरेका छन्।
अपराध नियन्त्रणमा उल्लेखनीय सफलता
साँखु, शंखरापुर तथा कागेश्वरी मनोहरा क्षेत्रलाई लक्षित गरी गैरकानुनी गतिविधि नियन्त्रणमा पनि प्रहरी निरीक्षक थापाले प्रभावकारी अभियान सञ्चालन गर्नुभएको थियो।
उहाँको नेतृत्वमा काठ तस्करी, सवारी चोरी, अवैध लागूऔषध कारोबार तथा अन्य आपराधिक गतिविधिमाथि कडा निगरानी राखिएको थियो। विभिन्न विशेष अपरेशनमार्फत लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका थिए भने संगठित अपराध नियन्त्रणमा समेत उल्लेखनीय सफलता हासिल भएको बताइन्छ।
लागूऔषध ओसारपसारमा संलग्न समूहविरुद्ध सञ्चालन गरिएका कारबाहीका क्रममा प्रहरीले आवश्यक बल प्रयोग गरी अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भएको थियो। यसले अपराधी समूहमा कानुनी कारबाहीप्रतिको त्रास सिर्जना हुनुका साथै क्षेत्रको समग्र सुरक्षा वातावरण सुदृढ बनाउन सहयोग पुगेको स्थानीयहरूको भनाइ छ।
“साँखु क्षेत्रको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउँदै नागरिकले अनुभूति गर्ने किसिमको प्रहरी सेवा प्रवाह गर्न म दिनरात समर्पित रहनेछु,” उहाँले भन्नुभयो।
“साँखु मेरो मनमा सधैँ रहनेछ” : रमेश थापा
विदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक रमेश थापाले साँखुबासीले आफूलाई दिएको माया, सम्मान र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “मैले यहाँ सेवा गर्ने क्रममा स्थानीय समुदाय, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त सहयोगलाई जीवनभर सम्झिरहनेछु। कानुनी तथा सामाजिक रूपमा आवश्यक परे भविष्यमा पनि यस क्षेत्रका नागरिकहरूप्रति सहयोगी रहनेछु।”
उहाँले आफ्नो कार्यकालमा प्राप्त सफलताको श्रेय प्रहरी टोली, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूको सहकार्यलाई दिनुभएको थियो।
नयाँ नेतृत्वप्रति समुदायको अपेक्षा
सोही अवसरमा साँखु प्रभागको नेतृत्व सम्हाल्न आउनुभएका प्रहरी निरीक्षक मणिराम थापालाई खादा, माला तथा सम्मानपत्रद्वारा स्वागत गरिएको थियो।
पदभार ग्रहणपछि बोल्दै प्रहरी निरीक्षक मणिराम थापाले शंखरापुर क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवा आफ्नो प्रमुख प्राथमिकता रहने बताउनुभयो। उहाँले कानूनको प्रभावकारी कार्यान्वयन, समुदायसँगको सहकार्य तथा नागरिकको विश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“साँखु क्षेत्रको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउँदै नागरिकले अनुभूति गर्ने किसिमको प्रहरी सेवा प्रवाह गर्न म दिनरात समर्पित रहनेछु,” उहाँले भन्नुभयो।
नगर प्रमुखद्वारा सम्मान तथा स्वागत
यसैबीच शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले आफ्नो कार्यकक्षमा विशेष कार्यक्रम आयोजना गरी निवर्तमान प्रहरी निरीक्षक रमेश थापालाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक विदाई गर्नुभएको थियो। सोही अवसरमा नयाँ प्रहरी निरीक्षक मणिराम थापालाई स्वागत गर्दै नगरपालिकाले शान्ति सुरक्षा कायम राख्न आवश्यक सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको थियो।
समुदाय–प्रहरी सम्बन्धको उदाहरणीय अध्याय
स्थानीय नागरिकहरूका अनुसार प्रहरी निरीक्षक रमेश थापाको कार्यकालले शंखरापुरमा समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ। उहाँको जनमैत्री व्यवहार, सहज पहुँच, तदारुकता र निष्पक्ष कार्यशैलीले स्थानीयवासीको विश्वास जित्न सफल भएको चर्चा कार्यक्रममा बारम्बार सुनिएको थियो।
नयाँ नेतृत्वसँग पनि यही सहकार्य र विश्वासको सम्बन्ध अझ मजबुत हुने अपेक्षा स्थानीय समुदाय धुँल्लाटोलका संयोजक जनता श्रेष्ठले व्यक्त गरेको छ। शंखरापुरको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रहरी तथा समुदायबीचको साझेदारीलाई अझ सशक्त बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन भएको थियो।