शंखरापुर,काठमाण्डौं। — साँखुस्थित भाग्योदय माध्यमिक विद्यालयमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत, उत्तीर्ण विद्यार्थीलाई बधाई तथा कक्षा १२ का विद्यार्थीलाई बिदाई गरिएको छ।
विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनकुमार नापितको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति दिलीपकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति हरिचन्द्र थापा, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष निरज के.सि नेकपा एमालेको तर्फबाट प्रतिनिधि प्रेमप्रकाश प्रजापति, भाग्योदय माध्यमिक अभिभावक संघका अध्यक्ष राजन नापित, व्यवस्थापन समितिका सदस्यहरू शंकर दुलाल, श्रीराम श्रीखण्ड श्रेष्ठ र अर्चेन देव शाही, प्रधानाध्यापक रुषण बसि,भाग्योदय क्याम्पसका प्रमुख कुन्ज जोशी लगायतको उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष नापितले विद्यार्थीलाई जबर्जस्ती पढाउनुभन्दा अध्ययनप्रति रुचि र प्रेरणा जगाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। अनुशासन, धैर्यता र गुरुहरूको मार्गनिर्देशनलाई आत्मसात् गर्न सके विद्यार्थीको जीवन सहज र सफल बन्ने उहाँको भनाइ थियो।
नगर सभापति श्रेष्ठले किशोरावस्थाबाट युवावस्थामा प्रवेशसँगै जीवनमा प्रतिस्पर्धा सुरु हुने भएकाले त्यसका लागि विद्यार्थीले समयमै तयारी गर्नुपर्ने बताउनुभयो। आफूले रोजेको क्षेत्रमा उत्कृष्ट बन्ने लक्ष्य राखेर अघि बढ्न उहाँले विद्यार्थीलाई प्रेरित गर्नुभयो।
रास्वपा प्रतिनिधि थापाले घरमा अभिभावक र विद्यालयमा गुरुजनको मार्गदर्शन विद्यार्थीको उज्ज्वल भविष्यको आधार भएको बताउँदै अनुशासित भएर अध्ययनमा केन्द्रित हुन आग्रह गर्नुभयो।
क्याम्पस प्रमुख जोशीले विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार विषय छनोट गर्नुपर्ने बताउँदै विद्यार्थीको उच्च शिक्षा र दक्षता विकासमा भाग्योदय क्याम्पसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष निरज केसीले जीवन निरन्तर सिकाइको प्रक्रिया भएकाले विद्यार्थीले ज्ञान र सीपलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। साँखु क्षेत्रमा सर्वसुलभ तथा गुणस्तरीय उच्च शिक्षाका लागि भाग्योदय क्याम्पस महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ थियो।
एमालेको तर्फबाट प्रतिनिधि प्रजापतिले करिब तीन दशकअघि आफूले यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको स्मरण गर्दै वर्तमान विद्यार्थीलाई सफलताको शुभकामना दिनुभयो।
व्यवस्थापन समिति सदस्य दुलालले विद्यार्थीलाई नैतिकवान्, अनुशासित र ज्ञानयुक्त नागरिकका रूपमा अघि बढ्न आग्रह गर्दै विद्यालयको शैक्षिक तथा भौतिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्का सदस्य श्रीराम श्रेष्ठले अत्याधुनिक भवन, सुविधासम्पन्न प्रयोगशाला र समर्पित शिक्षकको टोलीका कारण विद्यालयमा गुणस्तरीय शिक्षा हासिल गर्ने अनुकूल वातावरण बनेको बताउनुभयो।
कार्यक्रममा शिक्षिका गायत्री दंगालले सञ्चालन गर्नुभएको सांस्कृतिक प्रस्तुतिले सहभागीलाई थप मनोरञ्जन प्रदान गरेको थियो। विद्यार्थीहरूले विभिन्न चर्चित गीतमा आकर्षक नृत्य तथा गायन प्रस्तुत गरेका थिए।
स्वागत, बधाई तथा बिदाईसँगै विद्यार्थीको शैक्षिक यात्रालाई प्रेरणादायी बनाउने सन्देश दिएको कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो।
03 September 2026