एनओएद्वारा अमेरिकामा भव्य रूपमा ‘रजत महोत्सव’ सम्पन्न, नयाँ नेतृत्व चयन

lawanyasandesh.com

साँखु,काठमाण्डौं। अमेरिकामा बसोबास गर्दै आएका नेपाली तथा विशेषगरी नेवाः समुदायलाई एकताबद्ध गर्दै भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आएको Newa Organization of America (एनओए) ले आफ्नो स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा ‘रजत महोत्सव’ भव्य रूपमा सम्पन्न गरेको छ।


कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति समेत चयन गरिएको छ। अध्यक्ष पदमा राजेशलाल श्रेष्ठ निर्विरोध रूपमा चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा दिवाकर धौभडेल र बबिता श्रेष्ठ, महासचिवमा प्रतिक श्रेष्ठ, कोषाध्यक्षमा नविन मोहन रञ्जित तथा सचिवमा सचिन बैद्य निर्वाचित भएका छन्। सदस्यहरूमा ज्योत्स्ना श्रेष्ठ, शर्मिला श्रेष्ठ म्याकविलियम्स र अमित खड्गी चयन भएका छन्।


निर्वाचन समितिको संयोजकमा श्यामलाल श्रेष्ठ रहेका थिए भने सदस्यहरूमा उदय श्रेष्ठ र राजेश श्रेष्ठ सहभागी रहेका थिए। कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

एनओएले विगत २५ वर्षदेखि अमेरिकामा रहेका नेपाली तथा नेवाः समुदायको मौलिक धर्म, संस्कृति, भाषा, कला तथा पहिचान जगेर्ना गर्न निरन्तर भूमिका खेल्दै आएको छ। संस्थाले विशेषगरी अमेरिकाको डिसी महानगर क्षेत्रसहित विभिन्न राज्यहरूमा रहेका नेपाली समुदायबीच सांस्कृतिक एकता कायम गर्दै विभिन्न सामाजिक, सांस्कृतिक तथा सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ।

कार्यक्रममा नेवाः समुदायको मौलिक संस्कृति झल्काउने लाखे नाच, कुमारी नृत्य लगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमकी प्रमुख अतिथि नेपाली दूतावासकी सल्लाहकार अरुणा घिसिङ ले प्रवासमा बसेर भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा एनओएले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताइन्। उनले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी ढंगले समुदायसँग जोडिन सुझाव समेत दिएकी थिइन्।

कार्यक्रममा एनओएका अध्यक्ष महिन्द्र प्रधान, डब्लुएनओका अध्यक्ष मनोहरलाल श्रेष्ठ लगायतले मन्तव्य राख्दै प्रवासमा नेपाली पहिचान जोगाउन यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

रजत महोत्सव समारोहले अमेरिकामा रहेका नेपाली तथा नेवाः समुदायबीच सांस्कृतिक एकता, पहिचान संरक्षण र आपसी सद्भावलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया