साँखुमा सुरु भयो नेवार समुदायको पवित्र ‘गुँला धर्म’

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं। नेवार बौद्ध धर्मावलम्बीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व ‘गुँला धर्म’ ऐतिहासिक नगरी साँखुमा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। नेपाल संवतको नवौँ महिनामा मनाइने यो पर्व एक महिनासम्म विभिन्न धार्मिक विधि, पूजा–आराधना, भजनकीर्तन, धार्मिक स्थलको परिक्रमा तथा परम्परागत धाः,ता: नायोखिं,म्वआइली,बासुरी लगायतका सहितका बाजा बजाई मनाइन्छ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न साँखुमा गुँला धर्मको मुख्य आराध्यका रूपमा श्री बज्रयोगिनी मातालाई केन्द्रमा राखेर पर्व मनाउने परम्परा रहिआएको छ। गुँला धर्मका अवसरमा श्रद्धालुहरू बिहान ब्रह्ममुहूर्तमै उठी स्नान गरी चोखो–शुद्ध भएर पूजा सामग्री ‘खमु’ मा राखी धार्मिक यात्रामा सहभागी हुने गर्दछन्।


साँखुका गुर्जु तिलकराज बज्राचार्यका अनुसार गुँला धर्म केवल पूजा–आराधनामा सीमित पर्व नभई धार्मिक जीवन (भुटप्रेट पिशास आत्माहरु) सामाजिक तथा सांस्कृतिक जीवनसँग गहिरोसँग जोडिएको परम्परा हो। श्रद्धालुहरूले बिहानै पूजा गरी सम्पूर्ण जीवजगतको कल्याणको कामना गर्दै साँखुका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको परिक्रमा गर्ने गर्दछन्।


गुँला धर्मको धार्मिक यात्राका क्रममा साँखुका ऐतिहासिक नौ वटा बहाः (विहार), नौ वटा ननीः, नौ वटा हिति(ढुङ्गेधारा) तथा नगरका आठवटै टोलमा बाजागाजासहित परिक्रमा गर्दै आफुसंग भएका अक्षता मकै बिस्कुट आदिइत्यादी खुवाउदै परिक्रमा गर्ने परम्परा रहेको छ। पूजा निकालिएको घरबाट सुरु हुने धार्मिक यात्रा विभिन्न देवस्थल तथा सम्पदाको परिक्रमा गर्दै पुनः सोही घरमा पुगेर विधिपूर्वक समापन गरिन्छ।


मानन्धर समुदायका ज्ञानरत्न मानन्धरका अनुसार गुँला धर्ममा सहभागी श्रद्धालुले चोखो–शुद्ध भएर खाली खुट्टा श्री बज्रयोगिनी मन्दिरसम्म पुगेर पूजा गर्ने परम्परा छ। परिक्रमा गर्ने क्रममा दोबाटो, चौबाटो तथा विभिन्न देवीदेवताका मन्दिरमा चामल, मकै, बिस्कुटलगायत अन्न तथा खाद्य सामग्री अर्पण गर्ने गरिन्छ।

अन्न अर्पण गर्ने यस परम्पराले मानिसका लागि मात्र नभई चराचुरुङ्गी, जीवजन्तु तथा प्रत्यक्ष रूपमा देख्न नसकिने प्राणीहरूप्रतिसमेत करुणा, सम्मान र सहअस्तित्वको भावना प्रकट गर्ने मान्यता रहेको मानन्धरले बताउनुभयो।


धार्मिक यात्राका क्रममा इच्छुक व्यक्तिले अन्यलाई ‘किमु चढाउने’ अर्थात् भोजन खुवाउने चलनसमेत रहेको उहाँले बताउनुभयो। धार्मिक यात्रा तथा पूजा सम्पन्न भएपछि श्रद्धालुहरू पूजा निकालिएको घरमै फर्किएर निर्धारित विधिअनुसार पूजा समापन गर्ने गर्दछन्।

गुँला धर्मका क्रममा बजाइने परम्परागत धाः, ताः बाजा, नायोखिं, म्वाआलि, बाँसुरी, पक्षमा लगायतका बाजागाजासहितको भजनकीर्तन र सामूहिक धार्मिक यात्राले साँखुको सांस्कृतिक वातावरणलाई थप जीवन्त बनाउने गरेको छ।


स्थानीय तिलक मानन्द बज्राचार्यका अनुसार गुँला धर्मजस्ता पर्वले नयाँ पुस्तालाई आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा र सम्पदासँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक तथा सांस्कृतिक अभ्यासले साँखुको मौलिक पहिचानलाई जीवन्त राख्नसमेत योगदान पुर्‍याएको छ।

खड्गी समाज शंखरापुरका अध्यक्ष अर्चेनदेव शाहीका अनुसार गुँला धर्मले मानव जीवनलाई मात्र केन्द्रमा नराखी सम्पूर्ण प्राणीप्रति करुणा, दया र सहअस्तित्वको भावना विकास गर्ने सन्देश बोकेको छ।

“गुँला धर्म हाम्रो धार्मिक आस्था मात्र होइन, सबै जीवप्रति दया, करुणा र सम्मान प्रकट गर्ने मौलिक सांस्कृतिक परम्परा पनि हो,” उहाँले भन्नुभयो।


नेवार बौद्ध दर्शनमा गुँला धर्मलाई आत्मशुद्धि, धार्मिक साधना, करुणा तथा समग्र जीवजगत्को कल्याणसँग जोडेर हेर्ने गरिन्छ। एक महिनासम्म निरन्तर सञ्चालन हुने धार्मिक गतिविधिले समुदायमा सामूहिकता, सामाजिक सद्भाव तथा सांस्कृतिक निरन्तरताको भावना अझ बलियो बनाउने विश्वास गरिन्छ।

विशेषगरी साँखुजस्तो प्राचीन बस्तीमा मनाइने गुँला धर्मले यहाँका बहाः, ननीः, हिति, मन्दिर तथा अन्य धार्मिक–सांस्कृतिक सम्पदाको महत्वलाई समेत उजागर गर्दै आएको छ।


स्थानीय संस्कृति तथा इतिहासकर्मी प्रकाश मान सक्वका अनुसार पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको गुँला धर्मको परम्पराले साँखुको मौलिक पहिचान र जीवित सांस्कृतिक सम्पदालाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

एक महिनासम्म विभिन्न धार्मिक विधि र परम्परासहित सञ्चालन हुने गुँला धर्म भाद्र शुक्ल प्रतिपदाका दिन विधिपूर्वक समापन गरिनेछ। पर्व अवधिभर श्रद्धालुको सहभागितामा हुने धार्मिक यात्रा, पूजा–आराधना, भजनकीर्तन तथा बाजागाजाले साँखुको धार्मिक तथा सांस्कृतिक वातावरण थप उल्लासमय बन्ने अपेक्षा गरिएको छ।


गुँला धर्मको निरन्तरताले नेवार समुदायको प्राचीन बौद्ध परम्परा, धार्मिक आस्था र सांस्कृतिक सम्पदालाई पुस्तान्तरण गर्नुका साथै ‘सम्पूर्ण जीवको कल्याण’ भन्ने मानवीय दर्शनलाई व्यवहारमा स्थापित गर्दै आएको छ। त्यसैले गुँला धर्म साँखुको धार्मिक पर्व मात्र नभई करुणा, सहअस्तित्व, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको जीवन्त अभिव्यक्तिका रूपमा स्थापित हुँदैआएको छ।


प्रतिक्रिया