शंखरापुर, काठमाण्डौं। समुदायमा शान्ति सुरक्षा सुदृढ गर्दै महिला हिंसा, घरेलु दुर्व्यवहार तथा विभिन्न प्रकारका आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शंखरापुर नगरपालिका वडा नं. ६ पुखुलाक्षीमा बृहत् सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय उज्यालो महिला समूह को सक्रिय सहभागिता तथा सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा आयोजित उक्त कार्यक्रम “हाम्रो प्रहरी” अभियान अन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रममा महिला सुरक्षा, कानुनी अधिकार, साइबर अपराध, घरेलु हिंसा, सामाजिक विकृति तथा समुदायस्तरमा बढ्दो चुनौतीका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको नेतृत्व वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) विजया पौडेल ले गर्नुभएको थियो। उहाँसँगै सामुदायिक प्रहरी टोलीका सदस्यहरू कल्पना थापा र दिपा गौतम लगायतका प्रहरी अधिकारीहरूले सहभागी महिलाहरूलाई विभिन्न कानुनी व्यवस्था, अपराध रोकथामका उपाय तथा पीडितले प्राप्त गर्न सक्ने सेवा सुविधाबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा बोल्दै वरिष्ठ सई पौडेलले महिला हिंसा कुनै व्यक्तिगत वा पारिवारिक विषय मात्र नभई सामाजिक अपराध भएको उल्लेख गर्दै हिंसा लुकाउने संस्कृतिले पीडितलाई झन् जोखिममा पार्ने बताउनुभयो। उहाँले हिंसा, दुर्व्यवहार, साइबर ब्ल्याकमेलिङ, सामाजिक सञ्जालमार्फत हुने ठगी तथा महिला र बालबालिकामाथि हुने अपराधका घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “प्रहरी र नागरिकबीच विश्वासको सम्बन्ध बलियो नभएसम्म अपराध नियन्त्रण प्रभावकारी हुन सक्दैन। समुदाय आफैँ सचेत र जिम्मेवार बनेमा धेरै अपराध घटनाहरू सुरुमै रोक्न सकिन्छ।”
अन्तरक्रियामा सहभागी महिलाहरूले गाउँघरमा भोग्नुपरेका विभिन्न सामाजिक चुनौती, घरेलु हिंसाका घटनाहरू, महिला सुरक्षासम्बन्धी चिन्ता तथा युवापुस्तामा बढ्दो सामाजिक सञ्जालको दुरुपयोगबारे आफ्ना जिज्ञासा राखेका थिए। प्रहरी टोलीले सहभागीहरूको प्रश्नको उत्तर दिँदै कानुनी उपचारका प्रक्रिया, उजुरी दिने तरिका, गोपनीयता संरक्षण तथा पीडितमैत्री सेवाबारे जानकारी प्रदान गरेको थियो।
कार्यक्रममा सहभागी महिलाहरूले प्रहरी अधिकारीहरू प्रत्यक्ष रूपमा समुदायमा आएर सचेतना फैलाउँदा आत्मविश्वास बढेको, कानुनी ज्ञान प्राप्त भएको तथा समस्या पर्दा प्रहरीसम्म पुग्न सहज महसुस भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले महिलाहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाउनुका साथै अन्यायविरुद्ध आवाज उठाउने साहस समेत प्रदान गरेको बताएका छन्।
सहभागी महिला मध्य एक पूनम श्रेष्ठले भन्नुभयो, “जबसम्म महिलाहरू आफैँ सचेत, आत्मनिर्भर र संगठित हुँदैनन्, तबसम्म समाजमा अपेक्षित परिवर्तन सम्भव हुँदैन। प्रहरी हाम्रो सहयोगी संस्था हो। समुदाय र प्रहरीबीचको सहकार्यले मात्र सुरक्षित समाज निर्माण गर्न सकिन्छ।”
कार्यक्रमका क्रममा महिला हिंसा न्यूनीकरण, बालबालिका संरक्षण, लागूऔषध दुर्व्यसन नियन्त्रण, साइबर सुरक्षाका आधारभूत उपाय तथा समुदायस्तरमा शान्ति सुरक्षामा नागरिकको भूमिकाबारे समेत विशेष जानकारी प्रदान गरिएको थियो।
स्थानीय अगुवा तथा महिला समूहका प्रतिनिधिहरूले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्दै गएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन्। उनीहरूका अनुसार पछिल्लो समय समुदायस्तरमा प्रहरीको पहुँच बढ्दै जाँदा अपराध नियन्त्रण, सूचना आदानप्रदान र पीडितको संरक्षणमा उल्लेखनीय सुधार देखिन थालेको छ।
कार्यक्रमको समापन गर्दै सामुदायिक प्रहरी टोलीले शंखरापुर नगरपालिकाका अन्य वडाहरूमा समेत यस्ता सचेतनामूलक कार्यक्रमलाई विस्तार गरिने जनाएको छ। टोलीले महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण, अपराध न्यूनीकरण तथा सुरक्षित समाज निर्माणका लागि प्रहरी सधैँ नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको थियो।
समुदाय–प्रहरी साझेदारीको अवधारणालाई व्यवहारमा उतार्दै सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय महिलाहरूमा कानुनी साक्षरता अभिवृद्धि गर्नुका साथै महिला हिंसाविरुद्ध सामूहिक प्रतिरोधको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको निष्कर्ष रहेको छ।