साँखुको देवी नाच : इतिहास बोकेको जीवित संस्कार

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं। काठमाडौं उपत्यकाको प्राचीन धार्मिक तथा सांस्कृतिक नगरी साँखुमा शताब्दीयौँदेखि सञ्चालन हुँदै आएको देवी नाच धार्मिक आस्था, ऐतिहासिक निरन्तरता र सामुदायिक एकताको जीवन्त प्रतीकका रूपमा आज पनि कायम छ।


देवीभागवत पुराणमा आधारित मानिने यस नाचमा देवी शक्तिको स्तुति, दैत्यवध र विजयका प्रसङ्गलाई गीत, संगीत, नृत्य र अभिनयमार्फत प्रस्तुत गरिन्छ। खिं, झ्याली, मुयाली, पुँगा, काँ तथा तीःछु नायखिंलगायतका परम्परागत बाजाको धुनसँगै देवी, चण्डी र भैरवका पात्रले मुखौटा धारण गरी नृत्य प्रस्तुत गर्छन्।


लिच्छवीकालदेखि चलिआएको मान्यता

देवी नाचको लिखित इतिहासभन्दा पनि यसको मौखिक परम्परा पुरानो रहेको स्थानीय इतिहास अध्येताहरूको भनाइ छ। बज्रयोगिनी मन्दिर परिसरमा रहेका ऐतिहासिक संरचना तथा शिलालेखका आधारमा यसको परम्परा लिच्छवीकाल वा त्यसभन्दा अघिदेखि नै प्रचलित रहेको हुनसक्ने मत पाइन्छ।


राजा प्रताप मल्लको शासनकालमा देवी नाच काठमाडौं दरबार क्षेत्रमा समेत प्रदर्शन गरिएको प्रचलित ऐतिहासिक कथन छ। प्रदर्शनका क्रममा देवीको खड्गले दानवका रूपमा राखिएको ‘किस्ली’मा प्रहार गर्दा वास्तविक मानिसको मृत्यु भएपछि काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा देवी नाच प्रदर्शन गर्न रोक लगाइएको र त्यसपछि यो परम्परा साँखुमा मात्र सीमित भएको जनश्रुति छ।


प्रताप मल्लकै पालामा बज्रयोगिनी मन्दिर परिसरका विभिन्न संरचनाको मर्मत तथा निर्माण गरिएको र त्यससम्बन्धी शिलालेखसमेत रहेको पाइन्छ। यसले साँखुमा तत्कालीन समयमा धार्मिक तथा सांस्कृतिक गतिविधि व्यवस्थित रूपमा सञ्चालनमा रहेको देखाउने स्थानीय अध्येताहरूको भनाइ छ।


देवी नाचसम्बन्धी विधि, विधान, प्रस्तुतीकरण तथा नयाँ पुस्तालाई सिकाउने प्रक्रियासमेत नेपाल संवत् ९८७ मा प्रकाशित ‘देवी सञ्चालन’ पुस्तकमा उल्लेख रहेको बताइन्छ। लिखित अभिलेखले पनि यस परम्पराको निरन्तरता र संरचनात्मक स्वरूपबारे जानकारी दिने गरेको छ।


अन्य देवी नाचभन्दा साँखुको प्रस्तुति फरक

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा देवी नाच प्रदर्शन गर्ने परम्परा रहे पनि साँखुको प्रस्तुति र पात्र चयनमा मौलिकता रहेको स्थानीय इतिहासकार प्रकाश मान सक्व बताउनुहुन्छ।


उहाँका अनुसार साँखुको देवी नाचमा दैत्यका पात्रलाई प्राथमिकता नदिई कवाङ, बेताल र ख्याकजस्ता पात्रलाई नचाउने परम्परा छ। स्थानीय धार्मिक मान्यताअनुसार देवीको शक्ति अवतरणपछि दैत्यसंहार भइसकेको मानिने भएकाले विजय उत्सवका रूपमा अन्य पात्रको नृत्य प्रस्तुत गर्ने परम्परा विकास भएको हो।


नाच सुरु गर्नुअघि देवी घरमा देवी, चण्डी र भैरवका छुट्टाछुट्टै कल पूजा गरिन्छ। त्यसमध्ये एक पूजा बज्रयोगिनी मातालाई अर्पण गर्ने परम्परा रहेको छ। बज्राचार्य पुरोहितबाट मन्त्रसिद्धि गरी माताको शक्तिलाई ‘किकुँपा’का रूपमा पठाइने र त्यसको प्रतिनिधित्व मुखौटा धारण गरेका नर्तकले गर्ने धार्मिक विश्वास छ।


यसै क्रममा नर्तकको शरीर हल्लिनु, टाउको घुमिरहनु वा शरीर काँप्नुलाई देवीको शक्ति अवतरण भएको संकेतका रूपमा लिने स्थानीय मान्यता छ।

आठ टोल परिक्रमा गर्दै रातभरि नाच


साँखुका आठवटै परम्परागत टोल परिक्रमा गर्दै देवी नाच प्रस्तुत गरिन्छ। प्रत्येक टोलमा समय र परम्पराअनुसार फरक–फरक चरण र तालमा नृत्य प्रस्तुत गर्ने चलन छ। रातभरि सञ्चालन हुने नाच बिहान करिब ७ देखि साढे ७ बजेसम्म सम्पन्न गर्ने परम्परा रहेको छ।


साँखुका विभिन्न गुठीमध्ये देवी गुठीले देवी नाच सञ्चालन गर्दै आएको छ। स्थानीय समाजसेवी तथा गुठी नायो **धिरेन्द्र श्रेष्ठ (गिरि)**का अनुसार देवी नाच साँखुको धार्मिक आस्था र सामुदायिक पहिचानसँग जोडिएको जीवित सम्पदा हो।


“देवी नाच केवल नाच होइन, हाम्रो आस्था, इतिहास र सामुदायिक पहिचानको जीवित सम्पदा हो। यसलाई जोगाउनु हाम्रो साझा जिम्मेवारी हो,” उहाँले भन्नुभयो।


भूकम्प र महामारीमा पनि रोकिएन

२०७२ सालको भूकम्पले साँखुका थुप्रै ऐतिहासिक तथा परम्परागत संरचनामा क्षति पुर्‍याए पनि देवी नाचको परम्परा भने निरन्तर रह्यो। कोरोना महामारीका कारण नेपाल संवत् ११४० (वि.सं. २०७७) मा एक वर्ष नाच रोकिए पनि त्यसपछि पुनः सञ्चालन हुँदै आएको स्थानीयवासी बताउँछन्।


हाल शंखरापुर नगरपालिका, गुठी, सामाजिक संस्था तथा स्थानीय समाजसेवी समूहले देवी नाचको संरक्षण र प्रवर्द्धनमा चासो देखाउँदै आएका छन्। नयाँ पुस्तालाई नाचका गीत, बाजा, अभिनय, धार्मिक विधि र परम्परा हस्तान्तरण गर्ने क्रम पनि जारी छ।


धार्मिक आस्था, ऐतिहासिक स्मृति, मौलिक कला र सामुदायिक सहभागितालाई एकै सूत्रमा बाँधेको देवी नाच साँखुको मात्र नभई काठमाडौं उपत्यकाको महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको छ। यसको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई व्यवस्थित बनाउन सके साँखुको यो प्राचीन संस्कार भावी पुस्तासम्म सुरक्षित रूपमा पुर्‍याउन सकिने स्थानीय संस्कृतिप्रेमीहरूको भनाइ छ।


प्रतिक्रिया