जलवायु र महिला–बालबालिका केन्द्रित कार्ययोजनामाथि शंखरापुर वडा नं. ६ मा बृहत् छलफल

lawanyasandesh.com

शंखरापुर, काठमाण्डौं
शंखरापुर नगरपालिका वडा नं. ६ मा जलवायु परिवर्तन तथा महिला–बालबालिकाका सवाललाई केन्द्रमा राखेर तयार पारिएको कार्ययोजनामाथि बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय सरोकारवाला, विज्ञ, शिक्षा, स्वास्थ्य, कृषि तथा युवाक्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



कार्यक्रममा विज्ञ टोलीद्वारा गरिएको विस्तृत सर्वेक्षण प्रतिवेदन शंखरापुर नगरपालिकालाई प्रतिवेदन हस्तान्तरण गर्ने र त्यसबाट आएको निष्कर्ष, चुनौती र आगामी रणनीतिबारे गहन अध्ययन गरेर भावि रणनीति बनाउन नगरपालिकालाई सहज हुने बिश्वास गरिएको छ।सहभागीहरूले जलवायु परिवर्तनका कारण स्थानीय स्तरमा देखिएका समस्या, त्यसले महिला र बालबालिकामा पारेको प्रभाव तथा समाधानका सम्भावित उपायबारे आफ्ना धारणा राखेका थिए।


गैरसरकारी संस्था "महिला एकता समाज" साँखु शाखा कार्यालय साँखुकी अध्यक्ष मनिका श्रेष्ठले महिला, बालबालिका र जलवायु परिवर्तनका विषयलाई एकीकृत रूपमा सम्बोधन गर्न वैज्ञानिक ढंगले योजना निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्दै विज्ञ (कन्सल्टेन्ट) मार्फत सर्वेक्षण गरिएको जानकारी दिनुभयो। उहाँले जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित हुने भएकाले उनीहरूको अनुकूलन क्षमता अभिवृद्धि गर्न स्थानीय तहले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।


वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषि संजालका तर्फबाट सुन्दर मल्ल, भगवती माध्यमिक विद्यालयका अनुप श्रेष्ठ, स्वास्थ्य स्वयंसेविका सूर्य कुमारी कारंजित, सरिता श्रेष्ठ र बिमला कारंजित, स्काउटका तर्फबाट दिपेश श्रेष्ठ,युवाबाट जनक नारायण श्रेष्ठ  तथा प्राविधिक परामर्शदाता मिनेश गुरुङ्ग लगायतको सक्रिय सहभागिता रहेको थियो।



छलफलका क्रममा कृषि उत्पादनमा देखिएको असर, खानेपानी स्रोतमा परेको दबाब, महिलामाथि बढ्दो कार्यबोझ, विद्यालयस्तरमा जलवायु शिक्षा विस्तार, स्वास्थ्य जोखिम तथा समुदायस्तरमा सचेतना अभिवृद्धिका विषयमा विस्तृत बहस भएको थियो। सहभागीहरूले स्थानीय आवश्यकताअनुसार व्यावहारिक तथा दीर्घकालीन योजना निर्माण गर्न सुझाव दिएका थिए।


कन्सल्टेन्ट मिनेश गुरुङ्गले सर्वेक्षणको निष्कर्ष प्रस्तुत गर्दै वडाले तत्काल र दीर्घकालीन रूपमा लागू गर्न सक्ने कार्यक्रम तथा नीतिगत प्राथमिकताबारे प्राविधिक सुझाव दिनुभयो। उहाँले समुदायमा आधारित अनुकूलन योजना, वातावरण संरक्षण,खानेपानी मुहानको संरक्षण तथा प्रवर्द्धन  महिला नेतृत्व विकास तथा बालबालिकामैत्री कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।


कार्यक्रममा महिला एकता समाजले शंखरापुर नगरपालिकाका वडा नं. १, २, ३, ५, ६ र ८ मा यस्ता सर्वेक्षण तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी समेत दिइएको थियो।
कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले छलफलबाट प्राप्त सुझाव, विज्ञको प्रतिवेदन तथा स्थानीय समुदायको अपेक्षालाई आगामी वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहभागीहरूले कार्यक्रम फलदायी, समन्वयात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताएका थिए।

प्रतिक्रिया