साँखु,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समग्र अवस्था, हालसम्मको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी विषयमा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूसँग विस्तृत छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्रगति अवस्थाबारे सूक्ष्म रूपमा जानकारी लिइएको थियो। सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने विषयमा विशेष जोड दिँदै कार्यसम्पादनमा तीव्रता ल्याउन निर्देशन दिइएको बताइएको छ।
ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिँचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्न स्पष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सम्पूर्ण कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता, इमानदारी तथा उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिइएको छ। जनताले प्रत्यक्ष महसुस गर्ने परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकतामा राख्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ।
आगामी दिनमा देखिएका चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गरी मन्त्रालयको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको जनाइएको छ।