शंखरापुर,काठमाण्डौं। काठमाण्डौंको ऐतिहासिक तथा धार्मिक नगरी शंखरापुर साँखुमा श्रावण महिनाको अन्तिम सोमबार श्रावणी पूजा–आराधना तथा बोलबम यात्राको भव्य रूपमा समापन भएको छ।
अन्तिम सोमबारका अवसरमा बिहानैदेखि साँखुका विभिन्न शिवालय, शक्तिपीठ तथा धार्मिकस्थलमा दर्शनार्थीको उल्लेख्य घुइँचो लागेको थियो। भक्तजनले व्रत बसेर भगवान् शिवको पूजा–आराधना गर्नुका साथै पवित्र जल अर्पण गरेका थिए।
शंखरापुर नगरपालिका–४ स्थित महादेव झ्वाला, वडा नं. ७ स्थित महादेवस्थान, पवित्र शालीनदी परिसर तथा वडागत सीमाभन्दा बाहिर रहेको ऐतिहासिक बज्रयोगिनी मन्दिरको गुँबिहार परिसरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो। त्यसैगरी कागेश्वरी धाम, सुन्दरीजलमा त आज बिशेषनै हुने गर्दछ, तथा शंखरापुर वडा नं ६ स्थित सलम्बुदेवी परिसरमा समेत भक्तजनले महादेवसहित विभिन्न देवीदेवताको पूजा–आराधना गरी जल अर्पण गरेर आफ्नो धार्मिक परम्परालाई कायम गर्दै आईरहेका छ्न्।
श्रावण महिनाका सोमबार भगवान् शिवको विशेष आराधना गर्ने धार्मिक परम्परा नेपालमा लामो समयदेखि रहँदै आएको छ। धार्मिक मान्यताअनुसार श्रावण महिना भगवान् शिवको प्रिय महिना मानिन्छ। समुद्र मन्थनका क्रममा निस्किएको कालकूट विष भगवान् शिवले पान गरेपछि उहाँको कण्ठमा उत्पन्न भएको दाह र पीडा शान्त पार्न भक्तजनले जल तथा गङ्गाजल अर्पण गर्ने परम्परा बसेको धार्मिक विश्वास छ।
यही धार्मिक आस्थाअनुसार भक्तजनले शालीनदीबाट पवित्र जल उठाएर शंखरापुर–७ स्थित महादेवस्थानमा रहेको ६४ लिङ्गेश्वरमध्ये ३४औँ श्री श्री श्री स्वयम्भू ज्योतिर्लिङ्गेश्वर महादेवमा जल अर्पण गरेका थिए।
साँखुको धार्मिक पहिचान बन्दै बोलबम यात्रा
शंखरापुर साँखुको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै गएको बोलबम यात्रा यस वर्ष पनि उत्साह र भक्तिभावका साथ सम्पन्न भएको छ। ‘बोल बम’को जयघोष गर्दै पवित्र जल बोकेर शिवालयसम्म पुग्ने यस यात्राले साँखुको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार साँखुमा बोलबम यात्राको व्यवस्थित सुरुवात करिब ११ वर्षअघि तत्कालीन ‘लावण्य सन्देश’का सम्पादक स्वर्गीय पवनलाल श्रेष्ठको अग्रसरतामा भएको हो। साँखुको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई नयाँ पुस्तासम्म पुर्याउने र स्थानीय धार्मिक सम्पदाको संरक्षणमा जनसहभागिता बढाउने उद्देश्यले यात्राको सुरुवात गरिएको बताइएको छ।
स्थानीय समाजसेवी जीवनमान सिंहले साँखुको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन बोलबम यात्राले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँका अनुसार यात्राले स्थानीय समुदायलाई धार्मिक तथा सांस्कृतिक गतिविधिमा जोड्नुका साथै साँखुको धार्मिक पहिचानलाई थप उजागर गरेको छ।
स्थानीय युवा रवि श्रेष्ठ र धार्मिक अभियन्ता मुकेश श्रेष्ठले बोलबम यात्रा पछिल्लो समय शंखरापुरकै धार्मिक पहिचानका रूपमा स्थापित हुँदै गएको बताउनुभयो। यात्राका कारण बाह्य क्षेत्रबाट समेत भक्तजन तथा पर्यटक साँखु आउने क्रम बढेकाले धार्मिक पर्यटनसँगै स्थानीय व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको उहाँहरूको भनाइ छ।
शंखरापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सत्यनारायण श्रेष्ठले बोलबम यात्राको परम्परालाई आगामी वर्षदेखि अझ व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन गर्न समुदायसँग छलफल गरी छुट्टै व्यवस्थापन समिति गठन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।
उहाँले बोलबम यात्रालाई व्यवस्थित रूपमा निरन्तरता दिन समिति गठन गरी व्यवस्थापनको जिम्मेवारी दिन सके परम्परालाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सकिने बताउनुभयो।
श्रावणी सोमबारको व्रत समापन
साँखुका राजपुरोहित सुदनराज राजोपाध्यायका अनुसार श्रावण महिना भगवान् शिवको प्रिय महिना भएकाले यस अवधिमा विशेषगरी सोमबार व्रत बसेर शिवको आराधना गर्ने धार्मिक परम्परा छ।
“श्रावण महिनामा सोमबारको व्रत बसी विधिपूर्वक शिवको पूजा–आराधना गर्दा मनोकाङ्क्षा पूरा हुने र आत्मिक शान्ति प्राप्त हुने धार्मिक विश्वास छ,” उहाँले भन्नुभयो।
अन्तिम सोमबारका अवसरमा साँखुको महादेवस्थानमा साँझ विशेष महाआरतिको आयोजना गर्ने तयारी गरिएको छ।भक्तजनको बाक्लो उपस्थितिलाई ध्यानमा राख्दै स्थानीय स्वयंसेवक, आयोजक तथा सुरक्षाकर्मी परिचालन गरी दर्शन तथा पूजा–आराधनालाई व्यवस्थित गरिएको छ।धार्मिक स्थलमा शान्ति–सुरक्षा कायम गर्न स्थानीयस्तरबाट आवश्यक व्यवस्थापन गरिएको ज्योतिर्लिङ्गेश्वर ब्यवस्थापनका अध्यक्ष सत्यनारायण श्रेष्ठले बताउनु भएको छ।
श्रावणी सोमबारले शंखरापुर साँखुको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई थप उजागर गरेको स्थानीयको भनाइ छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र स्थानीय सहभागितासँग जोडिएको बोलबम यात्रालाई आगामी दिनमा अझ व्यवस्थित गर्दै धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्।