विवादपछि गृहमन्त्री गुरूङको राजीनामा, सम्पत्ति स्रोतबारे प्रश्न अझै अनुत्तरित

lawanyasandesh.com

साँखु,काठमाण्डौं, — सेयर लगानीको स्रोत र व्यवसायिक सम्बन्धबारे उठेका विवादका बीच गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा घोषणा गरेका हुन्।

दीपक भट्टसँगको व्यवसायिक साझेदारी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएका विषयमा जनस्तरबाट प्रश्न उठेपछि गुरूङले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नहोस् भन्ने उद्देश्यले पद त्यागेको बताएका छन्। “निष्पक्ष छानबिनमा कुनै असर नपरोस् भन्ने हेतुले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले लेखेका छन्।

चैत १३ गते शपथ लिएका गुरूङले एक महिना नपुग्दै पद त्यागेका हुन्। उनले आफ्नो पदभन्दा माथि नैतिकता र जनविश्वास रहेको उल्लेख गर्दै सार्वजनिक जीवन पारदर्शी हुनुपर्ने बताएका छन्।

यसअघि उनले सेयर लगानी ऋणमार्फत गरेको दाबी गर्दै स्पष्टीकरण दिएका थिए। तर करिब ४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर स्वामित्वको स्रोत, सम्पत्ति विवरणमा ऋण नदेखाइएको विषय तथा विभिन्न कम्पनीमा रहेको लगानीबारे उठेका प्रश्न अझै स्पष्ट हुन सकेका छैनन्।

त्यसैगरी, हिरासतमा रहेका दीपक भट्टसँगको व्यावसायिक सम्बन्धबारे पनि स्पष्ट जवाफ नआउँदा विवाद थप चर्किएको थियो।

गुरूङको राजीनामापछि अब सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुने अपेक्षा गरिएको छ भने सार्वजनिक पदमा पारदर्शिता र जवाफदेहिताको विषय फेरि चर्चामा आएको छ।

प्रतिक्रिया