नेपाली कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका परिमार्जन

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गर्नुभएको छ। सार्वजनिक कार्यतालिकाअनुसार महाधिवेशनअन्तर्गतका प्रारम्भिक तहका अधिवेशनहरू असोज ३ गतेदेखि सुरु हुनेछन् भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।

कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ गते शनिबार र ४ गते आइतबार स्थानीय अनुकूलता हेरी सम्पन्न गरिनेछ। कांग्रेसका ६ हजार ७४३ वटै वडामा अधिवेशन हुनेछ। वडा अधिवेशनबाट वडा कार्यसमितिको निर्वाचनसँगै क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।

त्यसैगरी गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते बुधबार तथा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते शनिबार सम्पन्न गर्ने कार्यतालिका छ।

कांग्रेसले केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते गर्ने पूर्वनिर्धारित निर्णयलाई यथावत् राखेको छ।

कार्यतालिकामा बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका हकमा निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नेपाली जनसम्पर्क समितिका बाँकी रहेका देशहरूको अधिवेशन पनि असोज १० गतेभित्र सम्पन्न गर्ने कांग्रेसले जनाएको छ।

कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको विस्तृत समयतालिका भने दोस्रो चरणमा प्रकाशित गर्ने जनाएको छ। यससँगै तत्कालका लागि केन्द्रीय महाधिवेशनका लागि आवश्यक प्रतिनिधि छनोट हुने तहसम्मका अधिवेशनलाई प्राथमिकतामा राखिएको छ।


प्रतिक्रिया