साँखु, काठमाण्डौं।आज नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित “प्रदेश र स्थानीय तह केन्द्रित अभियान” अन्तर्गत बागमती प्रदेशस्तरीय विशेष कार्यक्रम धुलिखेलमा सुरु भएको छ ।
प्रतिष्ठानले सार्वजनिक गरेको जानकारीअनुसार कार्यक्रम जेठ ४ र ५ गते सञ्चालन हुने तय गरिएको छ । कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका जिल्ला सभापति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, संघीय सांसद तथा पार्टीका विभिन्न तहका नेताहरू सहभागी भएका छन् ।
कार्यक्रमको उद्देश्य प्रदेश र स्थानीय तहमा पार्टी संगठनको अवस्था, जनप्रतिनिधिहरूको कार्यअनुभव, सेवा प्रवाह, संघीय शासन प्रणालीको कार्यान्वयन तथा संगठन सुदृढीकरणका विषयमा छलफल गर्नु रहेको प्रतिष्ठानले जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार बागमती प्रदेशमा अभियान सुरु गरिएको जनाएको छ । कार्यक्रममा प्रशिक्षण, अनुभव आदानप्रदान तथा संगठनात्मक विषयमा छलफल भइरहेको सहभागीहरूले बताएका छन् ।
कांग्रेसका नेताहरूले स्थानीय तहलाई जनतासँग प्रत्यक्ष जोडिएको संरचना भएकाले पार्टी संगठनलाई वडा तहसम्म सक्रिय बनाउने विषयमा जोड दिएका छन् । कार्यक्रममा स्थानीय तह सञ्चालनका क्रममा देखिएका चुनौती, समन्वय तथा जनअपेक्षाका विषयमा समेत छलफल भएको बताइएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू, बागमती प्रदेशका पदाधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ ।