साँखु, काठमाडौँ । नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकबाट भएका तीन प्रमुख निर्णय सार्वजनिक गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारका निर्णयहरूमा सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक प्रतिस्पर्धामा सहभागी गराउनेदेखि भन्सार नियमावली स्वीकृत गर्ने र सशस्त्र प्रहरी बल नेपालको नेतृत्वमा नयाँ नियुक्तिसम्मका विषय समेटिएको जानकारी दिए।
उनका अनुसार पहिलो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित रहेको छ। उक्त निर्णयअनुसार सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गरिने भएको छ। यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने जनाइएको छ।
दोस्रो निर्णय अर्थ मन्त्रालयसँग सम्बन्धित रहेको छ। मन्त्रिपरिषद्ले भन्सार नियमावली २०८३ स्वीकृत गरेको छ। नयाँ नियमावलीले भन्सार प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र समयानुकूल बनाउने अपेक्षा गरिएको छ।
तेस्रो निर्णय गृह मन्त्रालयसँग सम्बन्धित रहेको छ। मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल बढुवा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।
यसैबीच पत्रकारहरूले सरकारको ३० दिने कार्यसम्पादन मूल्याङ्कन र १०० दिने कार्ययोजनाको प्रगतिबारे प्रश्न उठाएका थिए। त्यसको जवाफमा प्रवक्ता पोखरेलले सरकार आफैंले आत्ममूल्याङ्कन गरिरहेको र नागरिक तथा मतदाताले पनि मूल्याङ्कन गरिरहेको बताए।
उनले ३० दिनभित्र सम्पन्न गर्ने अधिकांश कामहरू अघि बढिसकेको दाबी गर्दै १०० दिनका योजनाहरू पनि कार्यान्वयनको दिशामा रहेको बताए।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान (टीयू ग्राउण्ड) खाली गराइने चर्चा सम्बन्धमा पनि उनले सरकारको धारणा स्पष्ट पारे। प्रवक्ता पोखरेलले उक्त मैदान भत्काउने वा खाली गराउने कुनै उद्देश्य नरहेको बताएका छन्।
उनका अनुसार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँग सकारात्मक छलफल भइसकेको छ। हालको लिज अवधि समाप्त भएकाले नयाँ सहमति (लिज एग्रिमेन्ट) गर्नुपर्ने अवस्था मात्रै रहेको र त्यसपछि मैदान सञ्चालनमा कुनै समस्या नहुने जनाइएको छ।
सरकारले टीयू मैदानमा राज्यको ठूलो लगानी रहेको स्मरण गराउँदै यसलाई भत्काउने वा अवरुद्ध गर्ने विषय निराधार रहेको स्पष्ट पारेको छ।