कागेश्वरी मेयर उपेन्द्र कार्कीको आग्रह: “औषधि खरिद प्रक्रिया सरल बनाइयोस्, गुणस्तरीय औषधि सुनिश्चित होस्”

lawanyasandesh.com

साँखु,काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की ले औषधि खरिद प्रक्रिया सुधार गर्न सरकारसँग गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले विशेषगरी स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत औषधि खरिद गर्दा देखिएका कानुनी जटिलता र प्रक्रियागत झन्झटले गुणस्तरीय औषधि आपूर्तिमा बाधा पुगेको भन्दै तत्काल सहजीकरण गर्न आग्रह गरेका हुन्।

मेयर कार्कीले सरकारलाई सम्बोधन गर्दै भनेका छन्, “बालेन सरकारलाई मेरो पहिलो अनुरोध—तपाईंले गर्ने सबै परिवर्तनका प्रयासप्रति हाम्रो पूर्ण साथ र समर्थन छ। तर, कृपया औषधि खरिद प्रक्रिया सुधारलाई प्रमुख प्राथमिकतामा राखिदिनुस्। सबै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध हुने व्यवस्था गरिदिनु भयो भने त्यो जनतामाथि गरेको सबैभन्दा ठूलो उपकार हुनेछ।”

उनका अनुसार हालको कानुनी संरचना र खरिद प्रक्रिया यति जटिल छ कि स्वास्थ्य संस्थाहरूले चाहेर पनि राम्रो गुणस्तरका औषधि समयमै खरिद गर्न सकिरहेका छैनन्। बिमा अन्तर्गत औषधि खरिद गर्दा थप प्रक्रियागत झन्झट र कानुनी बन्देजका कारण सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएको उनले बताए।
“हामीले सेवा दिने ठाउँमा बिरामीलाई गुणस्तरीय औषधि दिन चाहन्छौं, तर कानुनी प्रक्रिया यति अप्ठ्यारो छ कि कहिलेकाहीँ चाहेर पनि सम्भव हुँदैन,” उनले भने, “त्यसैले यी प्रक्रियालाई सरल, पारदर्शी र व्यवहारिक बनाउन आवश्यक छ।”

मेयर कार्कीले औषधि व्यवस्थापन र खरिद प्रणालीलाई वैज्ञानिक, पारदर्शी तथा प्रभावकारी बनाउनेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए। उनले स्थानीय तहदेखि संघीय सरकारसम्मको समन्वयमा सुधार ल्याउन सके स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारद्वारा अघि बढाइएका विभिन्न पहलप्रति समर्थन जनाउँदै उनले औषधि खरिद प्रणाली सुधारलाई तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे। “यो विषय केवल प्रशासनिक सुधार मात्र होइन, जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो,” उनले भने।

अन्त्यमा उनले सरकारलाई हार्दिक अनुरोध गर्दै भने, “जनताको स्वास्थ्यसँग जोडिएको विषयमा ढिलाइ नगरियोस्। प्रक्रियागत सहजता र गुणस्तर सुनिश्चित गर्न सकियो भने त्यसले सम्पूर्ण स्वास्थ्य प्रणालीलाई नै मजबुत बनाउनेछ।”

उनको यो आग्रहलाई स्वास्थ्य क्षेत्र सुधारका लागि महत्त्वपूर्ण सुझावका रूपमा हेरिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूबाट उठाइएका यस्ता मुद्दाले नीति निर्माण तहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया