साँखु खानेपानी ट्याङ्की क्षेत्रमा ४०० बिरुवा रोपियो

lawanyasandesh.com

शंखरापुर, काठमाडौं — वातावरण संरक्षण, जलाधार क्षेत्रको संवर्द्धन तथा स्वच्छ खानेपानीको दीर्घकालीन सुनिश्चितता गर्ने उद्देश्यले साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा बुधबार साँखुस्थित खानेपानी ट्याङ्की परिसरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।


श्रावण २० गते बिहान ९ बजेदेखि सञ्चालन भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, प्रहरी प्रशासन ,सामुदायिक वन उपभोक्ता, समितिका पदाधिकारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम बिहान १०:३० बजे सम्पन्न भएको आयोजकले जनाएको छ।


वृक्षारोपण अभियानअन्तर्गत लालुपाते, अम्बा, कपुर, तेजपात, असारे, जाई, कोइराला, लामपाते, लप्सीलगायतका फलफूल तथा काठजन्य प्रजातिका गरी करिब ४०० बिरुवा रोपिएका छन्। जलाधार क्षेत्रको संरक्षण, भू–क्षय तथा पहिरोको जोखिम न्यूनीकरण, खानेपानीको मुहान संरक्षण र ट्याङ्की परिसरलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण गरिएको समितिले जनाएको छ।


कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष जयराम श्रेष्ठले गर्नुभएको थियो। उहाँले स्वच्छ वन र स्वच्छ खानेपानी एकअर्काका परिपूरक भएको उल्लेख गर्दै हरियो वनको संरक्षण बिना दिगो खानेपानीको कल्पना गर्न नसकिने बताउनुभयो। उहाँका अनुसार रोपिएका बिरुवाको संरक्षणका लागि घेराबार, नियमित गोडमेल तथा स्याहार–सम्भारको व्यवस्था मिलाइएको छ भने ट्याङ्की क्षेत्रमा कार्यरत कर्मचारीलाई संरक्षणको जिम्मेवारीसमेत तोकिएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितले खानेपानी मुहान तथा जलाधार क्षेत्रमा गरिएको वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्नुका साथै भावी पुस्ताका लागि सुरक्षित पानीको स्रोत जोगाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले यस्ता अभियानलाई नगरपालिकाले निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।


कार्यक्रममा नगर उपप्रमुख समिता श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष तथा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, इलाका प्रशासन कार्यालय साँखुका प्रमुख विश्वामित्र कुइँकेल, प्रहरी प्रभाग साँखुका प्रमुख मणिराम थापा, इलाका वन डिभिजन कार्यालय साँखुका प्रमुख कमल आचार्य, वडा नं. ४ का कार्यवाहक अध्यक्ष दीपक गौतम, धुल्बु वन उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद गोतामे तथा साँखु फेदी खानेपानी समन्वय समितिका संयोजक कान्छाप्रसाद तिवारी,शंखरापुर उद्योग बाणिज्यका अध्यक्ष सत्यनारायण श्रेष्ठ,सामुदायिक प्रहरी सेवा साँखु,लगायतले वातावरण संरक्षण र जलस्रोत व्यवस्थापनमा सामूहिक सहभागिताको आवश्यकता औँल्याउनुभएको थियो।


समितिका अनुसार वृक्षारोपण कार्यक्रम वनसम्बन्धी प्राविधिक सिफारिसका आधारमा सञ्चालन गरिएको हो। रोपिएका बिरुवालाई दीर्घकालसम्म संरक्षण गर्दै हरित वातावरण निर्माण गर्ने अभियानलाई निरन्तरता दिइने जनाइएको छ।


साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सञ्चालन गरिरहेको खानेपानी आयोजना स्थानीय समुदायका लागि महत्वपूर्ण स्रोतका रूपमा रहेको जनाउँदै जलाधार क्षेत्रको संरक्षणमा सबैको सक्रिय सहकार्य आवश्यक रहेको समितिले जनाएको छ।


प्रतिक्रिया