शंखरापुर(साँखु), काठमाण्डौं। कागेश्वरी मनोहरा नगरपालिकाका युवालाई जापानमा रोजगारी तथा अध्ययनका अवसर उपलब्ध गराउने, मानव संसाधन विकास गर्ने र नगर अस्पतालको तत्कालीन तथा दीर्घकालीन विकासमा सहयोग जुटाउने विषयमा जापानको ओत्सुकी सिटीसँग महत्वपूर्ण सहकार्यको समझदारी भएको छ।
कागेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्की र जापानको ओत्सुकी सिटीका नगर प्रमुख कोबायासी नोबुयासुबीच भएको छलफलमा शिक्षा, स्वास्थ्य, रोजगारी, सीप विकास तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा सकारात्मक सहमति बनेको हो। कार्तिक ३० गते सोमबार
उक्त छलफलले दुई नगरबीचको सम्बन्धलाई नागरिकको प्रत्यक्ष हित र आवश्यकतासँग जोड्ने नयाँ आधार तयार गरेको छ।
नगर प्रमुख कार्कीका अनुसार सहकार्यको मुख्य उद्देश्य स्थानीय युवालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्नु र नगरको समग्र विकासका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्नु हो। यसअन्तर्गत युवालाई जापानी भाषा, संस्कृति तथा प्राविधिक र व्यावसायिक सीपसम्बन्धी तालिम प्रदान गर्ने, जापानमा अध्ययनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने र रोजगारीका अवसर प्राप्त गर्न सहयोग पुर्याउने समझदारी भएको छ।
यस सहकार्यबाट आर्थिक अवस्था वा अवसरको अभावका कारण आफ्नो क्षमता विकास गर्न नसकेका युवासमेत लाभान्वित हुने अपेक्षा गरिएको छ। युवालाई अध्ययन, सीप र रोजगारीका माध्यमबाट आत्मनिर्भर बनाउनुका साथै उनीहरूले हासिल गरेको ज्ञान र अनुभवलाई नगरको विकासमा समेत उपयोग गर्न सकिने नगरपालिकाको विश्वास छ।
नगर अस्पतालको तत्कालीन र दीर्घकालीन विकासमा जापानी सहयोग
दुई नगरबीचको सहकार्यको अर्को महत्वपूर्ण पक्ष कागेश्वरी मनोहरा नगरपालिकाको नगर अस्पतालको विकास हो। नगर अस्पताललाई थप व्यवस्थित, सुविधासम्पन्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउने उद्देश्यले तत्कालीन तथा दीर्घकालीन रूपमा सहयोग र सहकार्य गर्ने विषयमा समझदारी भएको नगर प्रमुख कार्कीले बताएका छन्।
यसअन्तर्गत अस्पतालको सेवा विस्तार, आधुनिक स्वास्थ्य प्रविधिको विकास, विशेषज्ञ स्वास्थ्य सेवा, आवश्यक जनशक्ति तथा प्राविधिक क्षमता अभिवृद्धि र आकस्मिक उपचार तथा जीवनरक्षाका लागि आवश्यक स्वास्थ्य सेवाको विकासमा सहकार्य गर्ने लक्ष्य राखिएको छ।
विशेषगरी नगर अस्पतालको संस्थागत क्षमता विकास, स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि र आधुनिक उपचार पद्धतिसम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदानले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख कार्कीले विकासको वास्तविक उपलब्धि नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा र सुविधामा देखिनुपर्ने धारणा राख्दै युवाको भविष्य निर्माण र नागरिकको स्वास्थ्यलाई नगर विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको बताएका छन्।
उनका अनुसार जापानको ओत्सुकी सिटीसँगको सहकार्यलाई औपचारिक सम्बन्धमा मात्र सीमित नराखी शिक्षा, रोजगारी, मानव संसाधन विकास र स्वास्थ्य सेवामा परिणाममुखी बनाइनेछ। यसका लागि तत्काल गर्न सकिने कामलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजनासमेत अघि बढाउने तयारी रहेको छ।
औपचारिक सम्बन्धभन्दा नागरिकको हितमा केन्द्रित साझेदारी
दुई नगरबीचको प्रस्तावित सहकार्य शिक्षा, स्वास्थ्य र रोजगारीका अतिरिक्त सांस्कृतिक आदानप्रदान तथा ज्ञान र अनुभव साझेदारीमा समेत केन्द्रित रहनेछ। यसले नेपाल र जापानका स्थानीय समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै विकासका सफल अभ्यास र प्रविधि आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
औपचारिक समझदारीपत्रमा हस्ताक्षर हुन बाँकी रहे पनि दुवै पक्षबीच सहकार्यका विषयमा महत्वपूर्ण समझदारी बनेको र तत्काल कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त भएको जनाइएको छ।
नगर प्रमुख कार्कीको पहलमा अघि बढाइएको यो सहकार्य प्रभावकारी रूपमा कार्यान्वयन हुन सके कागेश्वरी मनोहराका युवाले अध्ययन तथा रोजगारीका नयाँ अवसर प्राप्त गर्नुका साथै नगरवासीले आफ्नै नगरमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने सम्भावना बढ्नेछ।
अन्तर्राष्ट्रिय सहकार्यको वास्तविक सफलता सम्झौता वा औपचारिक भेटघाटमा मात्र नभई त्यसबाट नागरिकले प्राप्त गर्ने अवसर, सुविधा र उपलब्धिमा निर्भर रहने भएकाले अब दुवै नगरबीच भएको समझदारीलाई ठोस कार्ययोजना, समयसीमा र परिणाममा रूपान्तरण गर्नु महत्वपूर्ण हुनेछ।