कागेश्वरी मनोहरामा पाठेघर क्यान्सर तथा प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

lawanyasandesh.com

शंखरापुर,काठमाण्डौं। कागेश्वरी मनोहरा नगरपालिकाले महिलाहरूको प्रजनन स्वास्थ्य प्रवर्द्धन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान गर्ने उद्देश्यले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।


नगरपालिकाको स्वास्थ्य शाखाले उप–प्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम अन्तर्गत आगामी असार १० गते कागेश्वरी मनोहरा नगर अस्पताल, मूलपानीमा विशेषज्ञ चिकित्सकमार्फत विशेष स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।

नगरपालिकाका अनुसार शिविरमा महिलाहरूका लागि HPV DNA परीक्षण, VIA परीक्षण तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य जाँच निःशुल्क रूपमा गरिनेछ। पछिल्लो समय पाठेघरको मुखको क्यान्सर नेपाली महिलाहरूमा बढ्दो स्वास्थ्य चुनौतीका रूपमा देखिएकाले रोगको प्रारम्भिक अवस्थामै पहिचान गरी उपचार प्रक्रिया अघि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

शिविरमा सहभागी महिलाहरूलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श, आवश्यक परीक्षण तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक जानकारीसमेत प्रदान गरिने जनाइएको छ। नगरपालिकाले विशेषगरी आमा समूह, महिला दिदीबहिनी तथा प्रजनन उमेर समूहका महिलाहरूलाई अवसरको सदुपयोग गरी स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ।

स्वास्थ्य शाखाका अनुसार शिविरमा सहभागी हुन चाहने महिलाहरूको सहजताका लागि निःशुल्क यातायातको समेत व्यवस्था गरिएको छ। विभिन्न स्थानबाट निश्चित समयमा सवारी सुविधा उपलब्ध गराइनेछ। बिहान १० बजे भद्रवास स्वास्थ्य चौकी, बिहान ११ बजे रेडियन्ट स्कुल तथा दिउँसो १:३० बजे आदर्श माध्यमिक विद्यालयबाट सहभागीहरूलाई कागेश्वरी मनोहरा नगर अस्पताल, मूलपानीसम्म ल्याइने व्यवस्था मिलाइएको छ।

कागेश्वरी मनोहरा नगरपालिकाले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्वास्थ्य सेवा सर्वसुलभ र पहुँचयोग्य बनाउने नगरपालिकाको अभियान अन्तर्गत आयोजना हुन लागेको यस शिविरले विशेषगरी पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण, समयमै रोग पहिचान तथा महिलाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

शिविर सम्बन्धी थप जानकारीका लागि सम्पर्क व्यक्ति गंगा कुँवरको मोबाइल नम्बर ९८६१६७७४७७ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सम्पूर्ण आमा तथा महिला दिदीबहिनीहरूलाई स्वास्थ्य परीक्षणको अवसरको अधिकतम उपयोग गर्दै शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

प्रतिक्रिया