गगन थापालाई चन्द्र भण्डारीको सुझाव: 'अहिले राजीनामा दिने होइन, पार्टी बचाउने जिम्मेवारी पूरा गर्ने समय हो'

lawanyasandesh.com

साँखु,काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले महामन्त्री गगनकुमार थापालाई तत्काल राजीनामा नदिन सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको उपनिर्वाचनमा पार्टीले अनपेक्षित पराजय व्यहोरेपछि महामन्त्री थापा राजीनामा दिने मनस्थितिमा पुगेको चर्चाका बीच नेता भण्डारीको यस्तो धारणा सार्वजनिक भएको हो।
​निर्वाचनको परिणामपछि थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग समेत राजीनामा र आगामी कदमबारे परामर्श गरिरहनुभएको बुझिएको छ। तर, नेता भण्डारीले भने अहिलेको अवस्थामा राजीनामा विकल्प नभएको र नेतृत्वले जिम्मेवारीबाट भाग्न नहुने बताउनुभएको छ।
'कांग्रेसलाई औषधि खुवाउने बेला हो, छोडेर हिँड्ने होइन'
नेता भण्डारीले अहिलेको विषम परिस्थितिमा पार्टीलाई लथालिङ्ग पारेर हिँड्नुभन्दा नियमित महाधिवेशनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले भन्नुभयो, "अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो महाधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो।"
​पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भण्डारीले थप्नुभयो, "अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व हो। आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएका छन्। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, बिरामी छोडेर हिँड्न मिल्दैन।"
नेतृत्वको कर्तव्य: समस्याबाट भाग्नु होइन, उपचार गर्नु
नेपाली राजनीतिमा नैतिकता हराउँदै गएको टिप्पणी गर्दै भण्डारीले अब नयाँ सोच र नयाँ नेतृत्वको खाँचो रहेको औँल्याउनुभयो। समस्या देखेर भाग्नुभन्दा त्यसको समाधान खोज्नु नै साँचो नेतृत्वको पहिचान भएको उहाँको तर्क छ।
​"समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो," भण्डारीले भन्नुभयो, "यदि इच्छाशक्ति र साहस छ भने नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ। अब नयाँ विरुवा रोप्नैपर्छ।"
​पार्टीभित्र अन्तरघात र व्यवस्थापकीय कमजोरीका कारण पराजय भोग्नुपरेको बहस भइरहेका बेला भण्डारीको यो अभिव्यक्तिलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया