साँखु,काठमाडौँ, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै आपूर्ति व्यवस्थापनमा परेको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य बढाएको जनाएको छ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते रातिदेखि लागू हुने गरी समायोजन गरिएको हो। मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यअनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीलाई आधार मानी तीन वर्गमा मूल्य निर्धारण गरिएको छ। पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७१ रुपैयाँ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५१ रुपैयाँ ५० पैसा र तेस्रो वर्गमा १५२ रुपैयाँ तोकिएको छ।
निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल क्षेत्र समेटिएका छन्।
निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर २१६ रुपैयाँले मूल्य बढेर आएको जनाएको छ। सोही आधारमा नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ।
एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै हालका लागि ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
मध्यपूर्व तथा पश्चिम एसियामा देखिएको तनाव र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आपूर्ति व्यवस्थापनमा चुनौती बढ्दै गएको निगमले उल्लेख गरेको छ। नेपालसँग आफ्नै पेट्रोलियम स्रोत नभएकाले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष प्रभाव आन्तरिक बजारमा पर्ने गरेको निगमको भनाइ छ।