साँखु, काठमाण्डौं।
इरान र इजरायल–अमेरिकाबीच बढ्दो तनावका बीच इरानले इजरायलमाथि अहिलेसम्मकै बलियो आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिबार भएको मिसाइल प्रहारबाट दक्षिणी सहर डिमोना र अरादमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनाप्रति प्रतिक्रिया दिँदै यसलाई इजरायलका लागि “कठिन साँझ” भएको टिप्पणी गरेका छन्। उनले डिमोना र अरादका नगरप्रमुखहरूसँग टेलिफोनमार्फत कुराकानी गरेको उल्लेख गर्दै प्रभावित क्षेत्रलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको जानकारी दिएका छन्। उनले शत्रुविरुद्ध सबै मोर्चाबाट कारबाही जारी राख्ने पनि बताएका छन्।
स्थानीय समयअनुसार शनिबार साँझ इरानबाट प्रक्षेपित दुई ब्यालिस्टिक मिसाइल इजरायली हवाई रक्षा प्रणालीले रोक्न नसक्दा ठूलो क्षति भएको बताइएको छ। त्यसपछि प्रधानमन्त्री नेतन्याहु तथा इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामीरले थप कडा जवाफी कदमका लागि तयारी भइरहेको बताएका छन्।
दक्षिणी क्षेत्रमा भएको विस्फोटमा डिमोनामा छर्रा लागेर केही बालबालिका समेत घाइते भएका छन्। दिनभरि उक्त क्षेत्रमा पटक–पटक आक्रमण भएको जनाइएको छ। इरानी सरकारी सञ्चारमाध्यमले भने प्रहार इजरायलको आणविक अनुसन्धान केन्द्रलाई लक्षित गरिएको दाबी गरेका छन्, जुन डिमोनाबाट करिब १० किलोमिटर र अरादबाट करिब ३० किलोमिटर दूरीमा रहेको बताइएको छ।
उक्त कारबाही सोही दिन बिहान इरानको नातान्जस्थित युरेनियम प्रशोधन केन्द्रमा भएको अमेरिकी आक्रमणको प्रतिशोधस्वरूप गरिएको इरानको दाबी छ। इरानले त्यस घटनाका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर गरेको छ भने इजरायली सेनाले आफ्नो संलग्नता अस्वीकार गरेको छ।
शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्रलाई इजरायलको सम्भावित आणविक कार्यक्रमसँग जोडेर लामो समयदेखि चर्चा हुँदै आएको छ। यद्यपि इजरायलले आफ्नो परम्परागत नीतिअनुसार यसबारे न पुष्टि गरेको छ, न अस्वीकार नै गरेको छ।