श्रृङ्खलाबद्ध चोरीमा संलग्न दुई पक्राउ : मोबाइल, ल्यापटप, नगद र लागुऔषध बरामद

lawanyasandesh.com

साँखु,काठमाण्डौं। काठमाडौँको रानिवन र सानोभर्‍याङ क्षेत्रमा श्रृङ्खलाबद्ध रूपमा चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीका मोबाइल, ल्यापटप, नगद रकम, लागुऔषध तथा चोरीमा प्रयोग हुने औजारसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा उदयपुर ताप्ली गाउँपालिका–३ घर भई हाल नागार्जुन नगरपालिका–३ एकधारा बस्दै आएका २७ वर्षीय रमेश कुमार तामाङ तथा काठमाडौँ महानगरपालिका–९ निवासी २९ वर्षीय प्रभात सिंह प्रधान रहेका छन्। प्रहरीले उनीहरू शृङ्खलाबद्ध चोरी, चोरीका सामानको किनबेच तथा व्यवस्थापनमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका रमेश कुमार तामाङ यसअघि लागुऔषध मुद्दामा फरार प्रतिवादीसमेत रहेको खुलेको छ। प्रहरी टोलीले विशेष निगरानी तथा सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले बत्तिसपुतलीस्थित प्रभात सिंह प्रधानको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा विभिन्न इलेक्ट्रोनिक सामग्री र नगद बरामद गरेको छ। बरामद सामग्रीमा ८ थान आइफोन, २ थान आइपोड, ४ थान स्यामसंग मोबाइल, १ थान स्यामसंग ट्याब, डिस्प्ले परिवर्तन गरिएका २१ थान मोबाइल, २ थान म्याकबुक एयर, ५ थान एयरपड्स, १ थान सिडी रिडर, ३ थान ल्यापटप तथा एक लाख ३५ हजार रुपैयाँ नगद रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी नागार्जुन एकधारास्थित रमेश कुमार तामाङको डेराबाट ७८० क्याप्सुल ट्रामाडोल, बिलबुक तथा चेकबुक, चोरीमा प्रयोग गरिने फलामको डन्डी, ८ थान मोबाइल, बुद्धको मूर्ति तथा चोरीका क्रममा प्रयोग भएका विभिन्न कपडाहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चोरीका घटनामा संलग्न समूहले विभिन्न स्थानमा घर तथा कोठा लक्षित गरी रातिको समयमा चोरी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरिएका केही मोबाइल तथा ल्यापटपको पहिचान खुलाउने काम भइरहेको र थप पीडितहरू समेत सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक (DSP) कौशल कुमार बुढाथोकीले पक्राउ परेका दुवै जनामाथि चोरी, आपराधिक लाभ तथा लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले चोरीका घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया