लोकतन्त्र, प्रेस स्वतन्त्रता र गणतन्त्रको रक्षाका लागि पत्रकारहरू एकजुट हुनुपर्छ : प्रथम राष्ट्रपति डा. रामवरण यादव

lawanyasandesh.com

साँखु काठमाण्डौं। नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवस, प्रभातफेरी, विधान सभा तथा बन्दसत्र लोकतन्त्र, प्रेस स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र र पत्रकारिताको वर्तमान चुनौतीबारे गम्भीर बहस गर्दै ऐतिहासिक निर्णयसहित भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसी, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतका वक्ताहरूले लोकतान्त्रिक उपलब्धिमाथि विश्वव्यापी रूपमा चुनौती बढिरहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि सञ्चारकर्मीहरू अझ जिम्मेवार र एकताबद्ध हुनुपर्ने बताएका छन्।

माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुगेर विधान सभा उद्घाटन समारोहमा परिणत भएको थियो। कार्यक्रममा देशभरिबाट आएका पत्रकार, प्रेस युनियनका प्रतिनिधि, लोकतन्त्रवादी नेता तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

विश्वभर लोकतन्त्रमाथि चुनौती, उपलब्धि जोगाउन आग्रह

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्व राजनीतिमा बढ्दो दक्षिणपन्थी प्रभाव र पपुलिज्मले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर चुनौती सिर्जना गरिरहेको बताएका छन्।

उनले हंगेरी, टर्की, अर्जेन्टिना, जर्मनी, फ्रान्स, इटाली तथा बेलायतजस्ता मुलुकहरूमा समेत लोकतन्त्र कमजोर पार्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै नेपालले हजारौँ नेपालीको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताए।

डा. यादवले भने,
“लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिता हजारौँ नेपालीको बलिदानबाट प्राप्त उपलब्धि हो। यो ७०–८० वर्षको संघर्षको परिणाम हो। यसलाई संस्थागत गर्नु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो।”

उनले नेपाली राजनीतिका चिन्तक तथा नेपाली काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त आज पनि सम्पूर्ण नेपालीका लागि साझा मार्गदर्शन बनेको उल्लेख गरे।

प्रथम राष्ट्रपति यादवले संसदीय व्यवस्थाको मूल मर्मबारे चर्चा गर्दै प्रतिनिधि सभा सार्वभौम संस्था भएको र प्रधानमन्त्री संसद् तथा जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरे।
उनले भने,
“पार्लियामेन्ट्री सिस्टममा प्रधानमन्त्री ‘हाउस’को लिडर र देशको लिडर हो। प्रतिनिधि सभा, सरकार, न्यायालय र राष्ट्रपतिको संस्था एकअर्कासँग समन्वय गरेर अघि बढेनन् भने व्यवस्था कमजोर हुन्छ।”

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले राष्ट्रलाई स्पष्ट दृष्टिकोण दिनुपर्ने उल्लेख गर्दै उनले देशको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सरकारको स्पष्ट मार्गचित्र आवश्यक रहेको बताए।

“देशको दिशा कहाँ लैजाने, लोकतन्त्र र गणतन्त्रलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा राष्ट्रले प्रधानमन्त्रीको दृष्टिकोण सुन्न चाहेको छ,” उनले भने।
डा. यादवले नेपालको संविधान समयसापेक्ष रूपमा परिमार्जन हुँदै दीर्घकालीन लोकतान्त्रिक आधारका रूपमा स्थापित हुनुपर्ने धारणा राख्दै लोकतन्त्र, संघीयता र गणतन्त्र चिरस्थायी बन्न शुभकामना व्यक्त गरे।

“जहाँ लोकतन्त्र हुँदैन, त्यहाँ पत्रकारिताको कलम चल्दैन” : अर्जुन नरसिंह केसी

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले लोकतन्त्र र पत्रकारिता एकअर्काका पूरक भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताविना लोकतन्त्र बलियो हुन नसक्ने बताए।
उनले भने,
“कुनै पनि पत्रकार निष्पक्ष, पारदर्शी र सुसूचित गर्ने हो भने त्यो लोकतन्त्रवादी बाहेक अरू हुनै सक्दैन। लोकतन्त्रले मात्रै लेख्ने, पढ्ने, विचार अभिव्यक्ति गर्ने र सङ्गठन गर्ने स्वतन्त्रता दिन्छ। जहाँ लोकतन्त्र हुँदैन, त्यहाँ पत्रकारिताको कलम चल्न सक्दैन।”

केसीले पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत फैलाइने मिथ्या सूचना र भ्रमपूर्ण प्रचार सामग्रीले समाजमा अन्योल सिर्जना गरिरहेको उल्लेख गरे।
“जब मिथ्याको थुप्रो बढ्छ, तब सत्य हराउने खतरा हुन्छ। अहिले सत्यभन्दा असत्यलाई प्रचार गर्ने र समाजलाई भ्रमित गर्ने प्रयासहरू भइरहेका छन्। यस्तो अवस्थामा पत्रकारहरू अझ सतर्क हुनुपर्छ,” उनले भने।
उनले नेपाल प्रेस युनियनले लोकतन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै सत्य, निष्पक्षता र वस्तुगत पत्रकारितालाई सुदृढ बनाउन सञ्चारकर्मीहरू प्रतिबद्ध हुनुपर्ने बताए।

“लोकतन्त्र जोगाउने अर्को मोर्चामा पत्रकार” : शिव लम्साल

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस युनियन स्थापना भएको ३५ वर्षपछि फेरि लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि आन्दोलनको अर्को मोर्चामा उभिनुपर्ने अवस्था आएको बताएका छन्।
उनले प्रेस युनियन २०४७ सालको राजनीतिक परिवर्तनपछि सञ्चारकर्मीहरूको पेशागत हकहित, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन स्थापना गरिएको स्मरण गरे।

“आज फेरि लोकतन्त्र, गणतन्त्र र स्वतन्त्र पत्रकारितामाथि चुनौती देखिएको छ। स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने र आफ्ना पक्षका सञ्चार माध्यमलाई प्रवर्द्धन गर्ने प्रवृत्ति बढेको छ,” उनले भने।

अध्यक्ष लम्सालले पत्रकारहरूको क्षमता अभिवृद्धि, अध्ययन तथा पेशागत विकासका लागि छुट्याइएका बजेट कटौती गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सञ्चारमाध्यममाथि नियन्त्रण कायम गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

उनले भने,
“हरेक मन्त्री र सांसद केमा मुछिएका छन् भन्ने कुरा समाजले थाहा पाउँदै गइरहेको छ। आफ्ना कमजोरी ढाक्न सञ्चार माध्यम नियन्त्रण गर्ने प्रयास गरियो भने त्यो नेपाल प्रेस युनियनलाई स्वीकार्य हुँदैन।”

उनले प्रेस चौतारी, प्रेस सेन्टर लगायत विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूले समेत प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि साझा आन्दोलन आवश्यक रहेको बताए।

पत्रकार महासङ्घमा ‘शुद्धीकरण अभियान’

अध्यक्ष लम्सालले पत्रकार महासङ्घको सदस्यता विवादका कारण विधान सभा निर्धारित समयभन्दा ढिलो हुन पुगेको स्वीकार गर्दै महासङ्घलाई थप पारदर्शी, व्यावसायिक र व्यवस्थित बनाउन ‘शुद्धीकरण अभियान’ सञ्चालन गरिएको जानकारी दिए।

“पत्रकार महासङ्घको सदस्यता प्रेस युनियनले बाँड्न नपरोस्, प्रेस युनियनले छानबिन गर्न नपरोस्, स्वतन्त्र संस्थागत प्रणाली विकास होस् भन्ने हाम्रो चाहना हो,” उनले भने।
उनले आफ्नो कार्यकालमा लोमान्थाङ इन्टरनेशनल मिडिया समिट, जिल्ला तथा प्रदेश सभापतिहरूको भेला, विधान केन्द्रित राष्ट्रिय छलफल लगायत महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए। उक्त अन्तर्राष्ट्रिय मिडिया समिटमा १५० भन्दा बढी पत्रकार सहभागी भएको पनि उनले बताए।

ऐतिहासिक विधान सभा सर्वसम्मत पारित

नेपाल प्रेस युनियनको विधान सभाअन्तर्गत सम्पन्न बन्दसत्रले संगठनको आगामी महाधिवेशनको मार्ग प्रशस्त गर्ने ऐतिहासिक निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ।

बन्दसत्रले नयाँ विधान निर्माण तथा परिमार्जनका लागि गठन गरिएको कार्यदललाई यही असार महिनाभित्र नयाँ विधान संशोधन गरी लागू गर्ने जिम्मेवारी दिएको हो। सदस्यहरूको भावना, सुझाव र संगठनात्मक आवश्यकतालाई समेटेर समयसापेक्ष तथा सर्वस्वीकार्य विधान तयार गर्ने सहमतिसहित प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।

लामो छलफलपछि प्रतिनिधिहरूले संगठनभित्रका सदस्यता, संरचना र महाधिवेशन प्रक्रियासम्बन्धी जिज्ञासा समाधान गर्ने गरी स्पष्ट, व्यावहारिक र लोकतान्त्रिक विधान निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

पाँच सदस्यीय अध्यक्ष मण्डल गठन

नेपाल प्रेस युनियनले विधान सभालाई व्यवस्थित रूपमा सञ्चालन गर्न संस्थापक सदस्य तारानाथ दाहालको नेतृत्वमा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो। उक्त मण्डलमा पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले, पूर्व अध्यक्ष समिरजंग शाह, सल्लाहकार अनिता बिन्दु तथा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य सदस्य रहेका थिए।

अध्यक्ष मण्डलले विधान निर्माण प्रक्रियालाई सहमतिका आधारमा टुङ्ग्याउँदै संगठनलाई महाधिवेशनतर्फ अघि बढाउने वातावरण तयार गरेको सहभागीहरूले बताएका छन्।

नेपाल प्रेस युनियन साँखु शाखाका अध्यक्ष रामकृष्ण सिंह डंगोलका अनुसार बन्दसत्रमा सहभागी सदस्यहरूको भावना र सुझावलाई समेट्दै अध्यक्ष मण्डलले जेठ मसान्तसम्म नयाँ विधान संशोधन गरी तयार पारेर दिने प्रतिबद्धता व्यक्त गरेको थियो। सोही सहमतिका आधारमा बन्दसत्र सौहार्दतापूर्ण वातावरणमा सम्पन्न भएको उनले जानकारी दिए।

भव्य तथा सभ्य रूपमा सम्पन्न विधान सभा

नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवस, प्रभातफेरी, विधान सभा तथा बन्दसत्र लोकतान्त्रिक अभ्यास, संगठनात्मक एकता र प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतासहित भव्य तथा सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष शिव लम्सालले प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेता अर्जुन नरसिंह केसी, पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिगोविन्द आचार्य लगायत सम्पूर्ण अतिथि, प्रतिनिधि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै संगठनलाई एकताबद्ध ढङ्गले महाधिवेशनतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया