प्रादेशिक भाषा विधेयक कार्यान्वयनबारे विजेश्वरीमा अन्तरक्रिया सम्पन्न

lawanyasandesh.com

साँखु,काठमाण्डौं । प्रादेशिक भाषा विधेयकको कार्यान्वयन, त्यसका चुनौती तथा समाधानका उपायबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम विजेश्वरीस्थित नेपाल भाषा मंका खलकको सभाहलमा सम्पन्न भएको छ। खलक नेवा राजनैतिक महागुठीको आयोजनामा सम्पन्न कार्यक्रममा भाषा अधिकारकर्मी, संस्कृतिकर्मी, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा बागमती प्रदेशसभाका माननीय गंगा नारायण श्रेष्ठ, माननीय समिता खड्गी श्रेष्ठ, माननीय शैलेन्द्र बज्राचार्य तथा डा. प्राध्यापक ओमकारेश्वर श्रेष्ठले प्रादेशिक भाषा विधेयकको महत्व, यसको प्रभावकारी कार्यान्वयन र वर्तमान चुनौतीबारे आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। वक्ताहरूले संविधानले सुनिश्चित गरेको मातृभाषाको अधिकारलाई व्यवहारमा लागू गर्न राज्य संयन्त्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

उहाँहरूले नेपाल भाषा लगायत विभिन्न स्थानीय तथा मातृभाषाहरूलाई सरकारी कामकाज, शिक्षा, सञ्चार तथा सार्वजनिक सेवामा प्रयोग गर्न आवश्यक नीति, बजेट र जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। भाषा संरक्षण केवल सांस्कृतिक विषय नभई समुदायको पहिचान, इतिहास र अस्तित्वसँग जोडिएको विषय भएको उल्लेख गर्दै सहभागीहरूले भाषा अधिकारको सुनिश्चितताका लागि साझा पहल आवश्यक रहेको बताएका थिए।

अन्तरक्रिया कार्यक्रममा नेपाल भाषा मंका खलकका अध्यक्ष रमेश मान पिया तथा नेपाल लिपि गुठीका अध्यक्ष निरन्जन ताम्राकारले आफ्ना भनाइ तथा जिज्ञासा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले प्रादेशिक भाषा विधेयक पारित भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गर्दै व्यवहारिक प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा अनुप सिं सुवालले कार्यक्रम प्रस्तुति गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन माधव स्योःस्योःले गर्नुभएको थियो। सहभागीहरूलाई दिलिप साहिले स्वागत गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले प्रादेशिक भाषा विधेयकलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकाल्दै भाषा अधिकार संरक्षणका लागि निरन्तर सामूहिक पहललाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया