शंखरापुर, काठमाडौँ — कथा जीवनको ऐना हो, जहाँ समयका पदचाप, समाजका उतारचढाव र मानवीय संवेदनाका सूक्ष्म कम्पनहरू शब्दका माध्यमबाट प्रतिबिम्बित हुन्छन्। यही साहित्यिक यात्रालाई निरन्तरता दिँदै सः दबू साहित्यको छैठौं संस्करणअन्तर्गत स्रष्टा बिमलप्रभा बज्राचार्यको एकल लघुकथा वाचन कार्यक्रम शनिबार ललितपुरको तलाछें टोलमा सम्पन्न भएको छ।
वि.सं. २०८२ चैत ७ गतेदेखि प्रत्येक महिनाको पहिलो शनिबार एकजना स्रष्टाको एकल लघुकथा वाचन गराउँदै आएको सः दबू साहित्यको नियमित शृङ्खलामा यसपटक बज्राचार्यका सिर्जनाहरूले स्थान पाएका हुन्। नेपालभाषाको साहित्यिक आकाशमा लघुकथामार्फत समकालीन समाजका विविध पक्षलाई नियाल्दै आउनुभएकी बज्राचार्यले कार्यक्रममा फरक–फरक परिवेश, विषयवस्तु र स्वाद बोकेका नौवटा लघुकथा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको सुरुआत दिवङ्गत जनकवि दुर्गालाल श्रेष्ठको स्मरण र उहाँको निर्वाणको कामना गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो। नेपाली तथा नेपालभाषा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका जनकवि श्रेष्ठप्रति श्रद्धा अर्पण गर्दै साहित्यिक कार्यक्रम अघि बढाइएको हो।
तीन चरणमा विभाजन गरी प्रस्तुत गरिएका लघुकथामा वर्तमान समयका जटिलता, बदलिँदो सामाजिक परिवेश, मानवीय सम्बन्धका आरोह–अवरोह, सामाजिक विकृति तथा विसङ्गतिका विविध पाटालाई तथ्यका रूपमा उभ्याइएको थियो। छोटो आयाममा गहिरो भाव, जीवन्त परिवेश र सामाजिक चेतना सम्प्रेषण गर्ने बज्राचार्यका कथाहरूले श्रोतालाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने सामर्थ्य बोकेका थिए।
कथाको छोटो क्यानभासमा समाजको फराकिलो चित्र कोर्ने प्रयासस्वरूप प्रस्तुत लघुकथामा समसामयिक जीवनका भोगाइ, विसङ्गति र मानवीय संवेदनाका अनेक रङ देखिन्थे। सरल प्रस्तुतिभित्र गहन अर्थ र सामान्य घटनाभित्र असामान्य प्रश्न उठाउने कथाकारको शैलीले कार्यक्रमलाई साहित्यिक रूपमा थप अर्थपूर्ण बनाएको थियो।
छोटो, आत्मीय र साहित्यिक वातावरणमा सम्पन्न कार्यक्रममा सः दबू साहित्यका कविन्द्रलाल प्रधान र सुरेन्द्र भक्त श्रेष्ठले स्रष्टा बज्राचार्यलाई माला लगाई स्वागत गर्नुभएको थियो। कार्यक्रमका संयोजक सुधीर ख्वविले सहभागी तथा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै स्रष्टा बज्राचार्यलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।
सः दबू साहित्यका समा श्रीले स्रष्टा बज्राचार्यको संक्षिप्त साहित्यिक परिचय प्रस्तुत गर्दै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। औपचारिकताभन्दा साहित्यिक आत्मीयतालाई केन्द्रमा राखिएको कार्यक्रमले स्रष्टा र श्रोताबीचको सम्बन्धलाई अझ निकट बनाएको थियो।
सः दबू साहित्यले सञ्चालन गर्दै आएको एकल लघुकथा वाचन शृङ्खलाले छोटो समयमै निरन्तरता र विशिष्ट पहिचान बनाउँदै आएको छ। यसअघि सम्पन्न पाँच संस्करणमध्ये पहिलो संस्करणमा पूर्णराम मुनंकर्मी, दोस्रोमा राजेश्वरी राजोपाध्याय, तेस्रोमा अमृत रत्न शाक्य, चौथोमा अन्जना ताम्राकार र पाँचौँ संस्करणमा साँखुका रामेश श्रेष्ठको एकल लघुकथा वाचन प्रस्तुत भइसकेको छ।
नेपालभाषाको साहित्यिक सिर्जना र वाचन परम्परालाई जीवन्त राख्दै स्रष्टाका सिर्जनालाई प्रत्यक्ष रूपमा श्रोता र पाठकमाझ पुर्याउने उद्देश्यले अघि बढाइएको सः दबू साहित्यको यो अभियान पछिल्लो समय साहित्यिक संवाद र सिर्जनात्मक प्रस्तुतिको अर्थपूर्ण थलो बन्दै गएको छ।
एक महिनाको अन्तरालमा एउटा स्रष्टा, एउटा आवाज र कथाका अनेक संसारसँग साक्षात्कार गराउने यो अभियानले नेपालभाषाको लघुकथा विधालाई नयाँ पुस्तासम्म पुर्याउने मात्र होइन, बदलिँदो समाजलाई साहित्यको ऐनामा नियाल्ने अवसरसमेत प्रदान गर्दै आएको छ।