शंखरापुर, काठमाडौं — नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा र धार्मिक आस्थासँग जोडिएको नागपञ्चमी आज साँखुलगायत नेपालाधिराज्यभर धूमधाम रुपमा मनाईदै। विशेषगरी गुँलाः पर्वको समयमा पर्ने नागपञ्चमीलाई नेवार समुदायले नागराजको पूजा–आराधना, जलस्रोतको सम्मान तथा घरपरिवारको सुख, शान्ति र संरक्षणको कामनासहित मनाउने परम्परा छ।
नागपञ्चमीका अवसरमा साँखुका नेवार समुदायले परम्परागत विधिअनुसार नागराजको चित्र घरको मूलढोकामाथि टाँसेर पूजा गरेका छन्। नागको चित्रमा धूप, दीप, अक्षता, फूल, दुबो, दूध, दहीलगायत सामग्री चढाई नागराजको आराधना गर्ने चलन छ। घरको मूलढोकामा नागराजको चित्र स्थापना गरेमा सर्पको भय तथा विभिन्न प्राकृतिक विपत्तिबाट घरपरिवारको रक्षा हुने धार्मिक विश्वास रहिआएको छ।
साँखुमा नागपञ्चमीको धार्मिक परम्परा गुँलाः पर्वसँग समेत अभिन्न रूपमा जोडिएको छ। गुँलाःका अवसरमा हुने विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिमध्ये नागपञ्चमीको पूजा विशेष महत्वका साथ मनाइन्छ। यस दिन साँखुका घर–घरमा नागराजको चित्र टाँस्ने र धुमधामका साथ पूजा गर्ने परम्परा पुस्तौँदेखि चलिआएको छ।
स्थानीय संस्कृत तथा इतिहासविद् प्रकाशमान श्रेष्ठका अनुसार विगतमा साँखुमा नागपञ्चमीका लागि आवश्यक नागको चित्र स्थानीय पुँः (चित्रकार) हरूले परम्परागत शैलीमा हातैले कोर्ने गर्दथे। त्यही मौलिक चित्र घरको मूलढोकामाथि टाँसेर नागराजको पूजा गर्ने परम्परा थियो। तर पछिल्लो समय बजारमा सहजै उपलब्ध हुने भारतीय छापिएका विभिन्न प्रकारका नागका चित्र प्रयोग गर्ने चलन बढ्दै गएको उहाँ बताउनुहुन्छ।
“नागपञ्चमीमा टाँसिने चित्रमा नागकै स्वरूप स्पष्ट देखिने, मौलिक र धार्मिक भावनासँग मेल खाने चित्र प्रयोग गर्नुपर्छ,” श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बजारमा पाइने विभिन्न देवी–देवताका चित्रसहितका पोस्टरभन्दा विशुद्ध नाग मात्र भएको परम्परागत चित्र टाँस्ने प्रचलनलाई निरन्तरता दिनु आवश्यक छ। यसले साँखुको मौलिक संस्कृति र परम्परागत पहिचान जोगाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
नागचा: पाखामा नारायणको प्राचीन सम्पदा
नागपञ्चमीका अवसरमा साँखुको नागचा: पाखा पनि विशेष धार्मिक महत्वको स्थलका रूपमा रहेको छ। यहाँ नागमाथि ध्यान गरिरहेको स्वरूपमा रहेको नारायण भगवानको मूर्ति हजारौँ वर्षदेखि स्थानीय जनसमुदायको आस्था र श्रद्धाको केन्द्रका रूपमा रहँदै आएको स्थानीयको भनाइ छ।
नागमाथि ध्यानमग्न नारायण भगवानको उक्त मूर्तिलाई साँखुको प्राचीन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ। नागपञ्चमीलगायत विभिन्न धार्मिक अवसरमा स्थानीय बासिन्दा यहाँ पुगेर दर्शन तथा पूजाआजा गर्ने परम्परा रहिआएको छ। यसले साँखुको धार्मिक इतिहास, स्थानीय जनविश्वास र प्राचीन सांस्कृतिक निरन्तरताको झल्को दिने गरेको छ।
स्थानीय संस्कृतिप्रेमीहरूका अनुसार यस्ता सम्पदा केवल धार्मिक आस्थाका केन्द्र मात्र नभई साँखुको मौलिक इतिहास, कला र सांस्कृतिक पहिचान बोकेका जीवित धरोहर हुन्। त्यसैले यिनको संरक्षण, अभिलेखीकरण र नयाँ पुस्तालाई यसको महत्वबारे जानकारी गराउन आवश्यक रहेको उनीहरूको भनाइ छ।
मुयालीको धुनसँगै घर–घर पुग्ने पुरानो परम्परा हराउँदै
नागपञ्चमीसँग जोडिएको साँखुको अर्को मौलिक सांस्कृतिक परम्परा भनेको कुशुले सम्प्रदायका व्यक्तिहरू घर–घर पुगेर मुयाली (सहनाई) बजाउने चलन हो। विगतमा नागपञ्चमी तथा गुँलाः पर्वका अवसरमा कुशुले समुदायका कलाकारहरू घर–घर पुगेर मुयाली बजाउने गर्दथे।
घरको आँगनमा मुयालीको मधुर धुन बज्दा पर्वको वातावरण थप उल्लासमय हुने गर्दथ्यो। धार्मिक संस्कार, सांस्कृतिक पर्व र समुदायबीचको सम्बन्धलाई जोड्ने माध्यमका रूपमा समेत यस परम्परालाई लिइन्थ्यो।
तर आधुनिक जीवनशैली, सांस्कृतिक परिवर्तन र नयाँ पुस्ताको आकर्षणमा आएको बदलावका कारण घर–घरमा पुगेर मुयाली बजाउने उक्त परम्परा अहिले लगभग लोप हुने अवस्थामा पुगेको स्थानीय संस्कृतिप्रेमीहरू बताउँछन्। मौलिक बाजा, बाजागाजा बजाउने समुदाय र यस्ता परम्परालाई संरक्षण गर्न नसके आगामी पुस्ताले साँखुको सांस्कृतिक इतिहासका धेरै महत्वपूर्ण पक्ष प्रत्यक्ष अनुभव गर्न नपाउने उनीहरूको चिन्ता छ।
धार्मिक आस्था मात्र होइन, मौलिक पहिचानको पर्व
नागपञ्चमी साँखुका लागि केवल नागको पूजा गर्ने धार्मिक पर्व मात्र नभई यहाँको प्राचीन संस्कृति, कला, संगीत, सम्पदा र सामुदायिक जीवनसँग जोडिएको महत्वपूर्ण पर्व हो। घरको मूलढोकामा नागराजको चित्र टाँस्ने परम्परादेखि नागचा: पाखामा रहेको प्राचीन नारायण मूर्तिको दर्शन र कुशुले समुदायको मुयालीको धुनसम्म नागपञ्चमीले साँखुको बहुआयामिक सांस्कृतिक जीवनलाई प्रतिबिम्बित गर्दै आएको छ।
पुस्तौँदेखि चलिआएका यस्ता मौलिक परम्परालाई आधुनिक समयसँगै संरक्षण र अभिलेखीकरण गर्दै लैजान सके मात्र साँखुको विशिष्ट सांस्कृतिक पहिचान भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न सकिने स्थानीय संस्कृतिप्रेमीहरूको धारणा छ। नागपञ्चमीले नाग, जल, प्रकृति र मानवबीचको सहअस्तित्वको सन्देशसँगै आफ्नै मौलिक संस्कृति संरक्षण गर्नुपर्ने दायित्वसमेत सम्झाउने गरेको छ।