साँखु काठमाण्डौं। छिमेकी राष्ट्र भारतमा आगलागीका घटनाले निरन्तर मानवीय तथा आर्थिक क्षति पुर्याइरहेका बेला बिहारको मुजफ्फरपुरस्थित एक निजी अस्पतालमा भएको भीषण आगलागीले फेरि एकपटक सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। बिहीबार बिहान करिब ३ बजे अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
आगलागीले अस्पतालका बेड, उपचार उपकरण तथा अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ। प्रत्यक्षदर्शी र स्थानीयवासीका अनुसार क्षतिको वास्तविक विवरण अझै खुल्न बाँकी रहेकाले मृतक संख्या बढ्न सक्ने आशंका व्यक्त गरिएको छ।
घटनापछि दमकल तथा उद्धार टोली तत्काल खटिए पनि अस्पतालको संरचनागत जटिलताका कारण उद्धार कार्य कठिन बनेको थियो। पाँचौँ तलामा रहेको आईसीयू तथा चौथो तलाको प्रतीक्षालयमा फसेका बिरामीलाई निकाल्न झ्याल, ढोका र सिसा फुटाएर उद्धार गर्नुपरेको थियो। स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा धेरै बिरामीको ज्यान जोगाइएको बताइएको छ।
घटनापछि अस्पताल प्रशासनको भूमिकामाथि पनि गम्भीर प्रश्न उठेको छ। पीडित परिवारहरूले आगलागी सुरु हुनासाथ चिकित्सक, नर्स तथा कर्मचारीहरूले बिरामीलाई अलपत्र छाडेर भागेको आरोप लगाएका छन्। यदि समयमै आगो नियन्त्रण उपकरण, आपत्कालीन निकास र सुरक्षा मापदण्डको प्रभावकारी व्यवस्था गरिएको भए क्षति कम हुन सक्ने स्थानीयको भनाइ छ।
मुजफ्फरपुरका जिल्ला अधिकारी सुब्रत कुमारले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै अस्पताल प्रशासनको लापरवाही पुष्टि भए कडा कानुनी कारबाही गरिने बताएका छन्। घाइतेहरूको उपचार तथा बेपत्ता बिरामीहरूको खोजीलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
नेपालका लागि चेतावनीको घण्टी
भारतमा दिनहुँजसो आगलागीका घटनाबाट मानवीय क्षति भइरहेको अवस्थामा नेपालले पनि यसबाट गम्भीर पाठ सिक्न आवश्यक देखिन्छ। अहिले देशका धेरै भागमा सुख्खा मौसम जारी छ। ग्रामीण तथा शहरी क्षेत्रमा बस्ती बाक्लिँदै गएका छन् भने अस्पताल, विद्यालय, व्यापारिक भवन, होटल तथा आवासीय क्षेत्रमा आगो नियन्त्रणका पूर्वतयारी पर्याप्त छैनन् भन्ने गुनासो बारम्बार उठ्ने गरेको छ।
विशेषगरी काठमाण्डौं उपत्यकासहित घना बस्ती भएका क्षेत्रहरूमा विद्युत् सर्ट, ग्यास चुहावट, अव्यवस्थित तारजाल तथा अग्नि सुरक्षा उपकरणको अभावका कारण ठूलो दुर्घटनाको जोखिम बढ्दो छ। स्थानीय तह, अस्पताल प्रशासन, व्यवसायी तथा सर्वसाधारण सबैले आगलागी नियन्त्रणका आधारभूत मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता देखिएको छ।
आगलागी एक क्षणको लापरवाहीले निम्त्याउने विपत्ति हो। त्यसैले समयमै सतर्कता, नियमित सुरक्षा परीक्षण, आपत्कालीन उद्धार अभ्यास तथा पर्याप्त अग्नि सुरक्षा उपकरणको व्यवस्था आजको अपरिहार्य आवश्यकता बनेको छ। अन्यथा छिमेकी देशमा देखिएका यस्ता दुःखद घटनाहरू नेपालमा पनि दोहोरिन नसक्ने कुनै आधार छैन।