भ्रातृ संस्थामा गगन थापाको नयाँ नेतृत्व चयन, नेविसंघदेखि तरुण दलसम्म नयाँ अनुहार

lawanyasandesh.com

साँखु,काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका भ्रातृ संस्थाहरूमा नयाँ नेतृत्व चयन गरेका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघमा नयाँ अध्यक्ष नियुक्त गरेका हुन्।
निर्णयअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाण्डौंका मनिष कोइराला तथा नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेल नियुक्त भएका छन्।
पार्टीभित्र लामो समयदेखि भ्रातृ संस्थाहरू निष्क्रिय बन्दै गएको, संगठन विस्तार कमजोर भएको तथा महाधिवेशन हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सभापति थापाले नयाँ नेतृत्व चयन गरेका हुन्। नयाँ नियुक्त नेतृत्वलाई संगठनलाई सक्रिय बनाउने, जिल्ला तथा स्थानीय तहसम्म संरचना विस्तार गर्ने र निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गराउने मुख्य जिम्मेवारी दिइएको कांग्रेस स्रोतले जनाएको छ।
नेविसंघमा करुणा कटुवालको नियुक्तिलाई विद्यार्थी राजनीतिमा नयाँ पुस्ता र महिला नेतृत्वको उदयका रूपमा हेरिएको छ। त्यस्तै तरुण दलमा मनिष कोइरालाको आगमनसँगै युवा परिचालन र संगठन सुदृढीकरणमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको छ। महिला संघको नेतृत्व सम्हालेकी मीना खरेललाई महिला सहभागिता बढाउने तथा संगठनलाई पुनः सक्रिय बनाउने चुनौती रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
कांग्रेसभित्र पछिल्लो समय पुस्तान्तरण, संगठन पुनर्गठन र युवालाई नेतृत्वमा ल्याउने बहस तीव्र भइरहेका बेला सभापति थापाले गरेको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीका केही नेताहरूले भने सहमति र आन्तरिक सन्तुलनलाई ध्यान दिनुपर्ने धारणा राखेका छन्।
नवनियुक्त अध्यक्षहरूले आफूहरूलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पार्टीको विचार, संगठन र जनसम्पर्कलाई बलियो बनाउँदै समयमै महाधिवेशन सम्पन्न गराउने बताएका छन्।

प्रतिक्रिया